अवैध लागूऔषधसहित तीनजना पक्राउ

नेपालखोज २०८२ फागुन १२ गते १३:३२

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका–८ तीनकुनेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ९० ट्याब्लेट र डिकोलिक ५ सय ९० ट्याब्लेट सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैँचा नगरपालिका–४ बस्ने २१ वर्षीय सिजन अधिकारी र तेह्रथुम घर भएका २० वर्षीय नविन कडेल रहेका छन् । अस्थायी प्रहरी चौकी तीनकुनेबाट खटिएको प्रहरीले प्र.१–०२–०५५ प ११३२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । झापाको बुद्धशान्ती गाउँपालिका–३ किरात पार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १० मिलिग्राम सहित सोही गाउँपालिका–४ बस्ने २४ वर्षीय सोनम शेर्पालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुधबारे समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको प्र.१–०१–००२ ह ६१७ नम्बरको अटो समेत नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका–१ नागमन्दिर नजिक सडकमा ज.१ त ४५२० नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने ३० वर्षीय भोला सहनीको सोमबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नगर अस्पताल बरहथवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुरको बागमती गाउँपालिका–८ तल्लो भवानीस्थित सडकमा फापरबारीबाट हात्तीसुडेतर्फ जाँदै गरेको प्र.३–०२–००५ प १००८ नम्बरको मोटरसाइकल सोमबार राति दुर्घटना हुँदा चालक बकैया गाउँपालिका–८ बस्तिपुर बस्ने ४० वर्षीय प्रेम बहादुर गोलेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पताल मकवानपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दाङको राजपुर गाउँपालिका–४ मोतीपुरस्थित सडकमा रोहिनियाबाट मोतीपुरतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको ट्याक्टरबाट खसेर सोही गाउँपालिका–४ रोहिनिया बस्ने ४५ वर्षीय हरि प्रसाद चौधरीको सोमबार राति मृत्यु भएको छ । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला
काठमाडौं । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–७ सूर्यपुरास्थित सूर्यपुरा हाइड्रो पावरको ड्याममा हाल नाम, थर र वतन नखुलेका पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । काभ्रेको धुलिखेल नगरपालिका–७ अड्डाबजार डेरा गरी बस्ने नमोबुद्ध नगरपालिका–५ कमिरे घर भएका ६० वर्षीय हिराकाजी लामा आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् । सुनसरीको दुहबी नगरपालिका–६ स्थित काली मन्दिर नजिक बाटो छेउमा सोही नगरपालिका–६ खत्बे टोल बस्ने ४५ वर्षीय संतोष साह सोमबार मृत अवस्थामा फेला परेका छन् । मोरङको मिक्लाजुङ गाउँपालिका–३ कालीदह बस्ने ६६ वर्षीय रेवत श्रेष्ठ सोही ठाउँस्थित बाटोमा गए राति मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया