भक्तपुरमा होली पर्व सुरु

नेपालखोज २०८२ फागुन १३ गते ६:४१

काठमाडौं । फागु पूर्णिमाको आगमनसँगै भक्तपुरमा रङको पर्व होली पर्व सुरु भएको छ ।  फागुण शुक्ल अष्टमीको दिन मंगलबार भक्तपुरस्थित दत्तात्रयको भिमसेन मन्दिरमा चिर स्वायगू अर्थात् चिरोथान होली पर्वको सुरुवात भएको हो । एक हप्ता अघि भक्तपुरको दत्तात्रयमा चिरोथान गरिन्छ ।

नेपाल भाषाबाट लज्ज अर्थात् भिमसेनको लिङ्ग प्रतिकको रुपमा काठको मुढालाई नगरको विभिन्न क्षेत्र परिक्रमा गराइन्छ भने पुनः दत्तात्रयमा ल्याएर भिमसेन मन्दिरमा झुन्ड्याएर राख्ने प्रचलन रहेको छ । यस लिङ्गलाई होली पूर्णिमासम्म मन्दिरमा झुन्ड्याएर राखिन्छ ।

होली सुरु भएको दिन कमलपोखरीमा लिङ्ग पखालेर सफा गरी ल्याउने र पूर्णिमाको साँझ सो भिमसेनको लज्जलाई ब्रम्हायणीको खोलामा लगी पखालेर ल्याउने गरिन्छ । 

फागु पूर्णिमाको दिन साँझपख सो लिंगलाई बोकेर ब्रह्मायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राखेपछि यस वर्षको फागु पर्व सम्पन्न हुने परम्परा छ ।

लिङ्ग प्रदर्शन गर्ने प्रचलन कहिलेदेखि सुरु भएको हो भन्ने यकिन तथ्य फेला नपरे पनि राजा जगतप्रकाश मल्लले १७औँ शताब्दीमा निर्माण गरेको यस मन्दिरमा सोही बेलादेखि यो प्रचलन रहेको बताउँदै आएको छ ।

फागु पर्वको सुरुवात भएको जनाउन काठमाडौँको वसन्तपुरमा चीर स्वायगु (चीर गाडे) सँगै भक्तपुरको तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा फागुन शुक्ल अष्टमीदेखि लिङ्ग प्रदर्शनमा राखिएको हो ।

लिङ्गसँगै यौन समागमनको दृश्य झल्कने गरी रातो कपडाको बीचमा प्वाल पारी काठको लिङ्ग प्रवेश गराइएको छ । झुन्ड्याएको लिङ्ग हल्लाउँदा योनी आकारको कपडाको प्वालभित्र छिर्ने गर्दछ भने यस दृश्यलाई भीमसेन र द्रौपदीको यौन समागमका रुपमा लिने गरिएको संस्कृतिकर्मी यशोधरा मानन्धरले जानकारी दिए ।

वसन्त ऋतुको आगमनसँगै फागु पर्वलाई सृष्टिलाई अभिप्रेरित गर्ने पर्वका रुपमा मनाइने बताउँदै उनले यो समय कामदेव आफैँ सक्रिय हुने भएकाले सृष्टिका लागि मानव जीवनमा यो अति उपयुक्त समय हो भन्ने मुख्य सन्देशसमेत यसले दिएको उनले जानकारी दिए ।

चीर स्वायगु अर्थात् चीर गाड्ने कार्यलाई शिवशक्ति मिलनका रुपमा लिने गरेको उनी बताउँछन् । संस्कृतिविद् मानन्धरका अनुसार महादेवको ११औँ अवतारमध्ये भीमसेन एउटा भएकाले यस पर्वलाई महादेव र पार्वतीको प्रतीकका रुपमा लिने गरेको बताउँछन् ।

फागुपूर्णिमाको दिन साँझ सो लिङ्गलाई एक व्यक्तिले काँधमा बोकेर ब्रह्मायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनःमन्दिरमा राखेपछि यस वर्षको फागु पर्व सम्पन्न हुने परम्परा रहँदै आएको छ । -रासस

प्रतिक्रिया