आईएमई र साउदीको डिजिटल वालेट टिक्मोबीच सम्झौता

नेपालखोज २०८२ फागुन १३ गते १७:४४

काठमाडौंं । रेमिटेन्स सेवा प्रदायक कम्पनी आईएमई र साउदीको अग्रणी डिजिटल वालेट टीआईक्यूएमओबीच डिजिटल कारोबार विस्तारको लागि सम्झौता भएको छ ।

गत माघ २७ गते साउदी अरबको राजधानी रियादमा एक विशेष कार्यक्रमबीच सम्झौता भएको हो । आईएमईका अध्यक्ष हेमराज ढकाल र टिक्मोका प्रबन्धनिर्देशक अब्दुलअजीज अज्लान अल्अज्लानले हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा साउदीको लागि नेपालको एक्टिङ एम्बेसडर सिर्जना अधिकारी, आईएमईका कार्यकारी अधिकृत दिवाकर पौड्याल तथा आइएमई र टिक्मोका उच्चाधिकारीहरुको उपस्थिति थियो ।

यो सम्झौता केवल एउटा कानुनी हस्ताक्षर मात्र नभएर दुई राष्ट्रको साझा डिजिटल भविष्यको रहेको दुवै पक्षको भनाइ रहेको छ । साउदी अरब हाल आफ्नो भिजन २०३० मार्फत ’नगदरहित’ समाजतर्फ लम्किरहेको छ ।

अर्कोतर्फ नेपालमा पनि डिजिटल वित्तीय पहुँच अब एउटा लक्ष्य मात्र नभई यथार्थ बन्दै गएको छ । यो सहकार्यले अरबको मरुभूमि र हिमालयको देश नेपालबीचको दूरीलाई थप कम गरेको आईएमईले जनाएको छ ।

यो साझेदारीले एउटा डिजिटल वित्तीय कोरिडोर निर्माण गरेको जनाउँदै आईएमईले यसले आर्थिक स्थिरता, डिजिटल सशक्तीकरण र सहज आबद्धतालाई प्रस्तुत गरेको छ । यो यात्राले भविष्यमा वित्तीय कारोबारलाई सहज र विश्वासिलो बनाउने लक्ष्य राखेको छ ।

सम्झौता भएसंगै आइएमईले टिक्मोमार्फत आइएमई गरौ, उपहार जितौं योजना सार्वजनिक गरेको छ । यही पुस २१ देखि चैत १७ सम्म सञ्चालनमा रहने यो योजनाअन्तर्गत साउदी अरबमा रहेका नेपालीहरुले टिक्मो एप प्रयोग गरेर आइएमई मार्फत पैसा पठाउँदा विभिन्न उपहारहरु जित्ने अवसर रहेको छ ।

प्रतिक्रिया