निष्पक्ष निर्वाचन गराउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष तपबहादुर मगरले आसन्न निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित तुल्याउन सबैसँग आग्रह गरेका छन् ।
स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वारा आज यहाँ आयोजित ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सरोकारवालाको’ भूमिका विषय कार्यक्रममा उनले निर्वाचनका लागि स्वच्छ वातावरण बनाउन सरकार, राजनीतिक दल, नागरिक समाज, सुरक्षा निकाय र सञ्चारजगतको महत्त्वपूर्ण भूमिका रहने धारणा राखे ।
अध्यक्ष मगरले भने, ‘जनताले निष्पक्ष रूपमा आफ्नो सक्षम र योग्य जनप्रतिनिधि छान्न पाउनुपर्छ । मतदातालाई दिग्भ्रमित हुने कार्य कसैबाट हुनुहुन्न ।’ नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक डम्बरबहादुर विकले निर्वाचन सुरक्षा व्यवस्थापन र तयारीका हिसाबले मतदानका दिन गर्नुपर्नेबाहेक सम्पूर्ण तयारी पूरा गरेको बताए ।
निर्वाचन आयोगका प्रतिनिधि उषा गजमेरले निर्वाचन आचारसहिता लागू भइसकेकाले राजनीतिक दल, उम्मेदवार र सरोकारवाला सबैले त्यसको पालना गर्न आग्रह गरे ।
निर्वाचनमा कुनै उम्मेदवारलाई लक्षित गरी आरोप प्रत्यारोग गरेमा दण्डको भागिदार हुनुपर्ने कानुनी व्यवस्था रहेको बताउँदै उहाँले राजनीतिक दल र उम्मेदवार मुख्य जिम्मेवार भएकाले विभिन्न समयमा आयोगले छलफल र परामर्श गरिसकेको जानकारी दिए ।

प्रतिक्रिया