नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ४१औं वर्षमा प्रवेश

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड ४१ औं वर्षमा प्रवेश गरेको छ । चार दशक लामो यात्रामा बैंकले ग्राहक, सेयरधनी, नियामक निकाय, साझेदार संस्थाहरू तथा सम्पूर्ण कर्मचारीहरूको निरन्तर विश्वास र सहयोगका आधारमा वित्तीय क्षेत्रमा सशक्त उपस्थिति कायम गर्दै आएको छ । यस ऐतिहासिक अवसरमा बैंक परिवारले सम्पूर्ण हितकारीप्रति हार्दिक आभार व्यक्त गरेको छ ।
यस ४०औं वार्षिकोत्सव अवसरमा बैंकका अध्यक्ष पृथ्बी बहादुर पाँडेले बैंकको सफल यात्रामा साथ दिने सबैप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा अझ पारदर्शी, जिम्मेवार र नवप्रवर्तनमुखी बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति प्रकाश पाण्डेले डिजिटल रूपान्तरणलाई तीव्रता दिँदै ग्राहक अनुभवहरूलाई अझ सरल, सुरक्षित र प्रभावकारी बनाउने दिशामा बैंक अग्रसर रहने बताए ।
’समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने नारा लिएको यस बैंकले ग्राहकवर्गहरूको सुविधालाई प्राथमिकता दिँदै नवीनतम बैंकिङ सेवाहरू प्रस्तुत गरिरहने पनि जानकारी दिए । बैंकले आफ्नो वार्षिकोत्सवको अवसर पारेर विगत ८ वर्षदेखि वित्तीय साक्षरतामा आधारित चित्र पुस्तकहरू प्रकाशन गर्दै आएको छ ।
यस ४० औं वार्षिकोत्सवमा पनि बैंकले आफ्नो आठौँ संस्करण ’३ आर सुन्दर संसार’ नामक चित्रकथा पुस्तक सार्वजनिक गरेको छ । बैंकले यो चित्रकथा वातावरणीय प्रदूषण, प्राकृतिक स्रोतको संरक्षण र ग्लोबल वार्मिङ जस्ता विषयहरूलाई समेटी सरल, रमाइलो र ज्ञानवद्र्धक शैलीमा प्रस्तुत गर्ने जमर्को गरेको छ ।
वातावरणमा भइरहेको तीव्र परिवर्तनले हाम्रो स्वास्थ्य, भविष्य र सुन्दर पृथ्वीलाई गम्भीर चुनौती दिइरहेको छ । यही कारण बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै बालबालिकालाई सचेत बनाउन यो पुस्तक प्रकाशित गरेको हो ।
यसैबीच, वार्षिकोत्सव दिवसका अवसरमा बैंकले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान कार्यक्रम गरेको छ । रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरूको सहभागिता थियो । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले हाल २६९ शाखा, २५७ एटीएम, ६५ एक्सटेन्सन काउन्टर, ६० शाखारहित बैंकिङ काउन्टरबाट सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया