निर्वाचनको तयारी अन्तिम चरणमा

नेपालखोज २०८२ फागुन १६ गते १८:३५

काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनका लागि मतपत्र, मतपेटिका तथा निर्वाचन सामग्री सबै जिल्लामा पुर्‍याइसकिएको छ । 

पहाडी र हिमाली जिल्लाका मतदान केन्द्रमा खटिइने मतदान अधिकृतले आवश्यक निर्वाचन सामग्री बुझबुझारथ गरी कार्यक्षेत्रतर्फ लागि सकेका छन् भने तराई-मधेस र सहरी जिल्लामा भने मतदान अधिकृतको अनुशिक्षण भइरहेको छ ।
 
‘दुर्गम जिल्लाका मतदान केन्द्रमा आवश्यक सामग्रीसहित कर्मचारी खटिइसकेका छन्’, निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, ‘आसन्न निर्वाचनको प्राथमिकता जिल्लाबाट निर्वाचन क्षेत्रतर्फ सरेको छ ।’ 

आयोगका तर्फबाट जिल्लामा सम्पादन हुने काममा सहजीकरण भइरहेको जनाउँदै उनले आज पनि अधिकांश जिल्लामा मतदान अधिकृतका लागि तालिम सञ्चालन भइरहेका बताए। 

मतदान केन्द्र रहेका विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालयलगायत भौतिक संरचना मतदान कार्यमा उपयोग गर्नका लागि उपलब्ध गराइदिन सङ्घीय सरकार र सम्बन्धित स्थानीय तहलाई अनुरोध गरिसकिएको पनि उनले बताए। निर्वाचन सुरक्षा, अत्यावश्यक सेवाको सञ्चालन र सहजीकरण, निर्वाचन र मतदान प्रक्रियामा समन्वय र व्यवस्थापनका क्षेत्रमा आवश्यक निर्णय आयोगबाट भइसकेको छ ।
 
यसैबीच, राससका चितवन समाचारदाताका अनुसार तीनवटै निर्वाचन अधिकृतको कार्यालयमा आवश्यक सामग्री पठाइएको छ । यही फागुन १८ गते बिहानदेखि ती सामग्री मतदान अधिकृतले बुझेर लैजानेछन् । मतदानमा खटिने कर्मचारी छनोट, मतदान अधिकृत र सहायक अधिकृतलाई अभिमुखीकरणको कार्यक्रम सम्पन्न भइसकेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए ।

चितवनका ४९४ मतदान केन्द्रमा मतदान अधिकृत, सहायक अधिकृत र अन्य कर्मचारी गरेर दुई हजार ९६४ जना कर्मचारी खटिने छन् । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न चारवटै सुरक्षा निकाय परिचालित भएको जानकारी दिए ।

    पैँसट्ठी राजनीतिक दल चुनावी प्रतिस्पर्धामा

निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
 
त्यसैगरी, समानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुनेछ ।
 
यसपटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् । एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम भएको आयोगले जनाएको छ ।
 
निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ । एक ४३ अस्थायी मतदानस्थल तय गरिएको छ । निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिइएका छन् ।
 
निर्वाचन दुई लाख १५ हजार कर्मचारी खटिँदैछन् । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ कुल चार करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ गरिसकेको छ । यसपटकको निर्वाचनमा चार अन्तरराष्ट्रिय र ३९ राष्ट्रिय संस्था निर्वाचन पर्यवेक्षणमा खटिएका छन् ।

प्रतिक्रिया