हजुर एआई एप मार्च १ देखि सेवा सुरु, ‘ठीकठाक’मा उत्कृष्टलाई मासिक २५ हजार नगद पुरस्कार
काठमाडौं । नेपाली भाषामै केन्द्रित नयाँ डिजिटल एप ‘हजुर एआई’ सार्वजनिक हुने भएको छ । नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै विकास गरिएको यो एप आगामी मार्च १, २०२६ (फागुन १७) गतेदेखि सञ्चालनमा आउने घोषणा गरिएको हो । ’नेपालीका लागि, नेपालीद्वारा निर्मित’ भन्ने नारासहित ल्याइएको एपले एउटै प्लेटफर्मबाट बहुआयामिक सेवा उपलब्ध गराउने दाबी गरिएको छ ।
एपको प्रमुख आकर्षणका रूपमा ‘ठीकठाक’ नामक सामाजिक सञ्जाल फिड प्रस्तुत गरिएको छ । कम्पनीका अनुसार ‘ठीकठाक’ मा प्रयोगकर्ताले राख्ने प्रत्येक पोस्टले ‘ठीकठाक स्कोर’ प्राप्त गर्नेछ । सोही स्कोरका आधारमा हरेक महिना उत्कृष्ट १०० जना प्रयोगकर्तालाई नगद पुरस्कार प्रदान गरिनेछ ।
महिनाकै उत्कृष्ट क्रिएटरले २५ हजार रुपैयाँ नगद पुरस्कार पाउने व्यवस्था गरिएको जनाइएको छ । यस व्यवस्थाले डिजिटल सामग्री निर्माणमा युवाहरूलाई प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।
हजुर एआईले सामाजिक सञ्जालसँगै अन्य विभिन्न सुविधा पनि समेटेको छ । ‘हजुर एआई च्याट’ नामक फिचरमार्फत नेपाली भाषा बुझ्ने र प्रतिक्रिया दिने एआई च्याटबोट उपलब्ध हुनेछ, जसले अध्ययन, जानकारी तथा सामान्य परामर्शमा सहयोग गर्ने बताइएको छ ।
त्यस्तै, भाषा सिकाइ सम्बन्धी फिचरमा कथामार्फत विभिन्न भाषा सिक्न सकिनेछ । उत्कृष्ट प्रदर्शन गर्ने प्रयोगकर्ताले मासिक १५ हजार रुपैयाँसम्म पुरस्कार पाउने व्यवस्था गरिएको छ । स्वास्थ्यतर्फ ‘प्राणायाम’ फिचर समावेश गरिएको छ, जसले नेपाली भाषामै ध्यान तथा श्वासप्रश्वास सम्बन्धी अभ्यास सिकाउनेछ । मनोरञ्जनका लागि समाचार, संगीत, लाइभ रेडियो, नेपाली चलचित्र तथा टेलिभिजन च्यानलहरू एउटै फिडमार्फत उपलब्ध हुने कम्पनीको भनाइ छ । यसरी सामाजिक सञ्जाल, अध्ययन, स्वास्थ्य र मनोरञ्जनलाई एउटै एपमा समेटेर प्रयोगकर्तालाई सहज डिजिटल अनुभव दिने लक्ष्य राखिएको छ ।
लन्च अफरअन्तर्गत जुलाई १, २०२६ सम्म सबै प्रयोगकर्तालाई निःशुल्क प्रिमियम सदस्यता उपलब्ध गराइने जानकारी दिइएको छ। इच्छुक प्रयोगकर्ताले मार्च १ देखि धधध।जबवगचबष्।अयm मा गई अकाउन्ट दर्ता गरी एप प्रयोग गर्न सक्ने जनाइएको छ ।

प्रतिक्रिया