सुरक्षित तथा दिगो पर्वतीय पर्यटनका लागि ’ट्रेकिङ गाइड खोज तथा उद्धार तालिम’ सम्पन्न

काठमाडौं । नेपालको साहसिक तथा पर्वतीय पर्यटन क्षेत्रलाई सुरक्षित, व्यवस्थित तथा दिगो बनाउने उद्देश्यले आयोजना गरिएको ‘ट्रेकिङ आधारित खोज, उद्धार तथा संकट व्यवस्थापन सम्बन्धी आधारभूत तालिम’ आइतबार सम्पन्न भएको छ ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को आयोजनामा तथा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त पहल अन्तर्गत सञ्चालित दीगो पर्यटन परियोजना (एसटीपी) को सहकार्यमा सञ्चालन गरिएको उक्त तालिम १० दिनसम्म काठमाडौं तथा विभिन्न फिल्ड अभ्यासमार्फत सम्पन्न गरिएको हो ।
फागुन ८ गतेदेखि टान सचिवालय, मालिगाउँबाट सुरु भएको तालिम आइतबार आयोजित समापन समारोह तथा प्रमाणपत्र वितरण कार्यक्रममार्फत औपचारिक रूपमा सम्पन्न भएको टानका अध्यक्ष सागर पाण्डेले जानकारी दिएका छन् । अध्यक्ष पाण्डेले पर्वतीय तथा ट्रेकिङ पर्यटनमा बढ्दो जोखिम न्यूनीकरण गर्दै पर्यटक सुरक्षालाई उच्च प्राथमिकतामा राख्ने लक्ष्यसहित व्यावसायिक ट्रेकिङ गाइडहरूको खोज तथा उद्धार क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको जानकारी दिए ।
कार्यक्रममा सहभागी बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदी, एसटीपीका राष्ट्रिय कार्यक्रम व्यवस्थापक धर्मराज दवाडी, टान पदाधिकारी, प्रमुख प्रशिक्षक प्रेमबहादुर गुरुङ, पर्यटनकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
तालिमले सुरक्षित ट्रेकिङ वातावरण निर्माण गर्दै नेपालको साहसिक पर्यटनलाई अन्तर्राष्ट्रिय रूपमा विश्वसनीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । समापन समारोहमा वक्ताहरूले नेपालको पर्वतीय पर्यटनलाई विश्वमै सुरक्षित गन्तव्यका रूपमा स्थापित गर्न दक्ष, प्रशिक्षित तथा जिम्मेवार मानव संसाधन विकास अपरिहार्य रहेको धारणा व्यक्त गरे ।
पछिल्ला वर्षहरूमा ट्रेकिङ तथा साहसिक पर्यटन विस्तारसँगै उद्धार कार्यको आवश्यकता बढ्दै गएको सन्दर्भमा यस्ता तालिमले पर्यटक सुरक्षा सुदृढीकरण, दिगो पर्यटन प्रवद्र्धन तथा अन्तर्राष्ट्रिय विश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
तालिम अवधिभर हिमाली क्षेत्रका सम्भावित जोखिम तथा चुनौतीहरूको पहिचान, खोज तथा उद्धारसम्बन्धी कानुनी संरचना, मानक सञ्चालन प्रक्रिया, आपतकालीन उद्धार उपकरणको प्रयोग, जीवनरक्षक प्रविधि, प्राथमिक उपचार, हिमपहिरो, हिमआँधी, ग्लेशियर जोखिम, जलवायु परिवर्तनजन्य प्रभाव तथा मौसम पूर्वानुमान सम्बन्धी विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले प्रशिक्षण दिएका थिए ।
समापन कार्यक्रममा बोल्दै एसटीपीका राष्ट्रिय कार्यक्रम प्रबन्धक धर्मराज दवाडीले दिगो पर्यटन विकासका लागि सुरक्षा क्षमता अभिवृद्धि अपरिहार्य रहेको उल्लेख गर्दै भने, ‘दिगो पर्यटनको आधार नै सुरक्षित पर्यटन हो । नेपालको पर्वतीय पर्यटन विश्वकै आकर्षक गन्तव्यमध्ये एक भए पनि यसको दीर्घकालीन सफलता पर्यटक सुरक्षासँग प्रत्यक्ष जोडिएको छ। दक्ष ट्रेकिङ गाइड र प्रभावकारी खोज तथा उद्धार प्रणाली निर्माणले मात्र जिम्मेवार तथा दिगो पर्यटन प्रवद्र्धन सम्भव हुन्छ ।’
नेपाल सरकारका सम्बन्धित निकाय, सशस्त्र प्रहरी बल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, मौसम विज्ञान विभाग, हिमालयन रेस्क्यु एसोसिएसन, इसिमोड, बीमा क्षेत्र तथा पर्वतारोहण विज्ञहरूको सहभागितामा सञ्चालन गरिएको तालिमले सहभागी गाइडहरूलाई वास्तविक संकट व्यवस्थापन तथा उद्धार कार्यमा आवश्यक व्यावहारिक दक्षता हासिल गरेको प्रशिक्षार्थीहरुले बताएका छन् ।
तालिम अन्तर्गत हिमाली मौसम प्रणाली, वन डढेलो सम्बन्धी खोज तथा उद्धार प्रक्रिया, जीपीएस आधारित ट्र्याकिङ प्रणाली, नेतृत्व विकास, संकट सञ्चार रणनीति, एक्युट माउन्टेन सिक्नेस जस्ता उच्च हिमाली स्वास्थ्य जोखिम व्यवस्थापन, सीपीआर तथा एड्भान्स फस्ट एड सम्बन्धी व्यवहारिक अभ्याससमेत गराइएको थियो ।
यसैगरी, भोटेकोशी नदी (सुकुटे–डोलालघाट) क्षेत्रमा जल उद्धार अभ्यास, पासाङ ल्हामु फाउन्डेसन र नागार्जुन–शिवपुरी राष्ट्रिय निकुञ्ज अन्तर्गत रक क्लाइम्बिङ केन्द्रमा रोप रेस्क्यु, नेभिगेशन, एन्करिङ, क्लाइम्बिङ तथा सेल्फ–रेस्क्यु सम्बन्धी विस्तृत फिल्ड प्रशिक्षण सञ्चालन गरिएको थियो ।
कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूको तर्फबाट अनुभव आदानप्रदान गर्दै तालिमले वास्तविक दुर्घटना व्यवस्थापन, उद्धार समन्वय तथा नेतृत्व क्षमतामा उल्लेखनीय सुधार ल्याएको प्रतिक्रिया व्यक्त गरिएको थियो । प्रमुख प्रशिक्षक प्रेमबहादुर गुरुङले हिमाली क्षेत्रमा बढ्दो जोखिमलाई मध्यनजर गर्दै दक्ष जनशक्ति विकास आजको आवश्यकता भएको बताए ।

प्रतिक्रिया