तेहरानमा भीषण आक्रमण, युद्ध सातौं दिनमा

तेहरान । इजरायलले इरानविरुद्ध सुरु भएको युद्धलाई ‘नयाँ चरण’ मा प्रवेश गराएको बताउँदै शुक्रबार राजधानी तेहरानमा ठूलो आक्रमण गरेको खबर सार्वजनिक भएको छ । युद्ध सातौँ दिनमा पुगेको बेला दुवै पक्षबाट आक्रमण र प्रतिआक्रमण तीव्र बनेका छन् भने यसको प्रभाव मध्यपूर्वका अन्य देशहरूमा पनि फैलिएको देखिएको छ ।
इरानी सञ्चारमाध्यमका अनुसार शुक्रबार बिहान तेहरानमा शक्तिशाली विस्फोटसहित आक्रमण भएका छन् । इजरायलले त्यसअघि राजधानीमा ‘शासन पूर्वाधार’ लक्षित गरी प्रहार गर्ने घोषणा गरेको थियो । इजरायली सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जमीरले अमेरिका–इजरायल संयुक्त अभियान अब अर्को चरणमा पुगेको र यसले इरानको शासन संरचना तथा सैन्य क्षमतामाथि थप आक्रमण गर्ने चेतावनी दिनुभएको थियो । उनले अझै थप ‘अप्रत्याशित कदम’ आउन सक्ने सङ्केत पनि गरेका छन् ।
अमेरिकी रक्षामन्त्री पीट हेग्सेथले पनि इरान र तेहरानमाथि प्रयोग गरिने सैन्य शक्ति नाटकीय रूपमा बढ्ने बताए । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नेतृत्व परिवर्तनको विषयमा आफू संलग्न हुनुपर्ने बताएका छन् । अमेरिका–इजरायलको प्रारम्भिक आक्रमणमा इरानका सर्वोच्च नेता आयातुल्ला अली खामेनी मारिएपछि नयाँ नेतृत्वको विषय चर्किएको छ ।
ट्रम्पले खामेनीका छोरा मोज्ताबा खामेनी सम्भावित उत्तराधिकारी हुन सक्ने अनुमान अस्वीकार गर्दै उहाँलाई ‘हल्का वजन’ भएको टिप्पणी गरेका छन् । उनले इरानमा ‘सद्भाव र शान्ति ल्याउने’ नेतृत्व आवश्यक रहेको उल्लेख गरे । द्वन्द्वको प्रभाव इजरायल र लेबनानसम्म फैलिएको छ । इरान समर्थित हिजबुल्लाहले क्षेप्यास्त्र प्रहार गरेपछि इजरायलले लेबनानमा हवाई आक्रमण गरेको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार ती आक्रमणमा कम्तीमा १२३ जनाको मृत्यु भएको छ । बेरुतका दक्षिणी उपनगरहरूबाट दशौँ हजार मानिस विस्थापित भएका छन् र धेरै परिवार समुद्र तटमा अस्थायी रूपमा बस्न बाध्य भएका छन् ।
समुद्र तटमा आश्रय लिइरहेका ६१ वर्षीय युसेफले आफू सन् २०२४ को युद्धपछि दोस्रो पटक विस्थापित भएको बताए । उनका अनुसार यस्तो अवस्थामा कसले बाँच्ने भन्ने निर्णय ‘भाग्य’ ले गर्ने जस्तो लाग्छ । आफ्नो परिवारलाई सुरक्षाका लागि सिरिया पठाएको र आफैँ घर फर्कने कि नफर्कने भन्ने दुविधामा रहेको उनले बताए ।
तेहरानमा भने आक्रमणबीच पनि केही स्थानमा सामान्य जीवनका दृश्य देखिएका छन् । बच्चाहरू बेलुनसँग खेलिरहेका र अभिभावकहरूले आफ्ना बालबालिकासँग साना सवारी चलाइरहेका दृश्य देखिए पनि सादा पोसाकमा सुरक्षा अधिकारीहरू सडकमा सक्रिय देखिएका छन् । स्थानीय एक इन्जिनियरका अनुसार सुरक्षा बलहरूले सडकमा गस्ती गर्दै मानिसहरूको फोन जाँच गर्ने र डरको वातावरण सिर्जना गर्ने काम गरिरहेका छन् ।
यसैबीच देशभर इन्टरनेट सेवा लगभग ठप्प भएको छ । निगरानी संस्था नेटब्लक्सका अनुसार इरानमा इन्टरनेट कनेक्टिभिटी सामान्य अवस्थाको करिब एक प्रतिशत मात्र रहेको छ । अधिकारीहरूले नागरिकलाई भिपिएन प्रयोग नगर्न चेतावनी दिएका छन् । तेहरानबाट बाहिरिएका युगान्डाका विद्यार्थी ओस्कार नाइगेमाले आक्रमणका क्रममा सहरभरि त्रास फैलिएको बताउनुभयो । उनका अनुसार विस्फोटका कारण जमिन नै थर्किएको महसुस भएको थियो र धेरै मानिसहरू अत्यन्त डराएका थिए ।
यसबीच इरानले पनि इजरायल र खाडी क्षेत्रका केही लक्ष्यतर्फ प्रतिआक्रमण गरेको जनाएको छ । कतारले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले अल–उदेदस्थित अमेरिकी हवाई अड्डालाई लक्षित ड्रोन आक्रमण विफल पारेको जनाएको छ । बहराइनले राजधानीमा होटल र दुई आवासीय भवन लक्षित आक्रमण भएको तर कुनै मानवीय क्षति नभएको बताएको छ भने साउदी अरेबियाले तीनवटा ब्यालेस्टिक क्षेप्यास्त्र रोकेको जनाएको छ ।
युद्ध सुरु भएदेखि खाडी क्षेत्रका देशहरूमा १३ जनाको मृत्यु भएको छ, जसमा सात जना सर्वसाधारण रहेका छन् । मृतकमध्ये कुवेतकी ११ वर्षीया बालिका पनि रहेको जनाइएको छ । द्वन्द्वको असर मध्यपूर्व बाहिर पनि देखिएको छ । श्रीलङ्काको तट नजिक अमेरिकी पनडुब्बीले एक इरानी युद्धपोतलाई टारपीडो गरेको खबर आएको छ भने अजरबैजानले आफ्नो विमानस्थलमा ड्रोन आक्रमण भएपछि प्रतिशोधको चेतावनी दिएको छ ।
एक इरानी राज्य सञ्चालित फाउन्डेसनले अमेरिका र इजरायलका आक्रमणबाट इरानमा एक हजार २३० जनाको मृत्यु भएको दाबी गरेको छ, तर यो तथ्य स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । अमेरिकी सेनाले भने युद्ध सुरु भएदेखि आफ्ना छ सैनिक मारिएको जनाएको छ भने इजरायलमा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।
इरानले भने युद्धविरामप्रति असहमति जनाएको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँग वार्ता गर्नुपर्ने कुनै कारण नदेखिएको बताए । उता अमेरिकी रक्षामन्त्री हेग्सेथले अमेरिकी हतियारको अभाव नरहेको भन्दै युद्ध जारी रहने सङ्केत दिए ।
तर मध्यपूर्वमा अमेरिकी सेनाको कमान्ड सम्हाल्ने सेन्ट्रल कमान्डका प्रमुख एडमिरल ब्राड कुपरका अनुसार इरानबाट हुने आक्रमण क्रमशः घट्दै गएको छ । उनले युद्ध सुरु भएको पहिलो दिनको तुलनामा ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण ९० प्रतिशत र ड्रोन आक्रमण ८३ प्रतिशतले घटेको बताउनुभयो ।
युद्धले विश्व बजारमा पनि प्रभाव पारेको छ । ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय यात्रा प्रभावित भएका छन् । तेलको मूल्यमा हाल केही स्थिरता देखिए पनि धेरै एसियाली सेयर बजारहरू शुक्रबार घटेका छन् ।
यसैबीच इरानले होर्मुज जलडमरूमध्यमा आफ्नो नियन्त्रण रहेको बताएको छ । त्यहाँबाट विश्वको ठूलो हिस्सा ऊर्जा आपूर्ति हुन्छ । वासिङ्टनले भने आवश्यक परेमा जहाजहरूलाई सुरक्षा दिँदै आवतजावत गराउने जनाएको छ । -रासस/एएफपी

प्रतिक्रिया