उत्तरी गोरखाका सबै मतपेटिका हेलिकप्टरबाट सदरमुकाम ल्याइयो

नेपालखोज २०८२ फागुन २३ गते १०:४४

गोरखा । गोरखा क्षेत्र नम्बर १ अन्तर्गत उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका सबै मतपेटिका आज सदरमुकाम ल्याइएको छ ।

बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत बाँकी १४ वटा मतदान केन्द्रको मतपेटिका पनि सदरमुकाम ल्याई पुर्‍याइएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

चुमनुब्री गाउँपालिका वडा नं २ ल्हो, वडा नं ३ सिर्दिबास, वडा नं ४ प्रोक र वडा नं ५ विहीको मतपेटिका विहान ल्याइएको हो । भौगोलिक विकटताका कारण चुमनुब्रीका २३ वटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याउनुपर्ने बाध्यता थियो ।

यसअघि शुक्रबार सेनाको हेलिकप्टरले नौ वटा मतदान केन्द्रको मतपेटिका ल्याएको थियो । गोरखा क्षेत्र नम्बर १ को मतपेटिका सङ्कलनको काम सम्पन्न भएसँगै आज नै मतगणना अगाडि बढाउने तयारी भएको उनले बताए ।

प्रतिक्रिया