साउदीको इरानलाई चेतावनी

रियाद । इरानबाट मिसाइल र ड्रोन आक्रमणको प्रयास भएपछि साउदी अरेबियाले तेहरानलाई ‘गलत गणना’ नगर्न चेतावनी दिएको छ । साउदी रक्षामन्त्री प्रिन्स खालिद बिन सलमानले क्षेत्रीय सुरक्षा र स्थिरतामा जोखिम बढ्ने भन्दै इरानलाई संयमता अपनाउन आग्रह गरे ।
साउदी रक्षा मन्त्रालयका अनुसार पछिल्ला दिनहरूमा राज्यका विभिन्न स्थानलाई लक्षित गरी गरिएको मिसाइल र ड्रोन आक्रमणहरू सफल हुन नदिई अवरोध गरिएको छ । तीमध्ये अमेरिकी सैन्य कर्मचारीहरू रहेको एक हवाई अड्डातर्फ प्रक्षेपण गरिएका क्षेप्यास्त्रहरू पनि समावेश छन् ।
इरानविरुद्ध अमेरिका–इजरायलले सुरु गरेको सैन्य कारबाहीपछि मध्यपूर्वमा क्षेत्रीय युद्धको अवस्था सिर्जना भएको एक हप्तापछि तेहरानले खाडी क्षेत्रभरि आक्रमणको प्रयास गरिरहेको बताइएको छ । विश्वकै प्रमुख तेल निर्यातकर्तामध्ये एक साउदी अरेबियाले यस हप्ताको सुरुआतमा पूर्वी क्षेत्रमा रहेको रास तनुरा रिफाइनरीलाई लक्षित गरी कम्तीमा दुईवटा ड्रोन आक्रमण भएको जानकारी दिएको थियो ।
यसै सन्दर्भमा प्रिन्स खालिदले पाकिस्तानका सेनाप्रमुखसँग भेटवार्ता गरेपछि सामाजिक सञ्जाल एक्समार्फत दुई देशबीचको छलफल सार्वजनिक गरे । उक्त भेटमा साउदी अरेबियाविरुद्ध भएका इरानी आक्रमणहरू र तिनलाई रोक्न आवश्यक उपायबारे विचार आदान–प्रदान भएको उनले उल्लेख गरे ।
प्रिन्स खालिदका अनुसार छलफलका क्रममा यस्ता आक्रमणहरूले क्षेत्रीय सुरक्षा र स्थिरतालाई कमजोर बनाउने विषयमा जोड दिइएको थियो । साथै इरानी पक्षले विवेकपूर्ण व्यवहार गर्दै सम्भावित गलत आकलनबाट बच्ने अपेक्षा व्यक्त गरिएको उनले बताए । साउदी रक्षा मन्त्रालयले यसअघि राजधानी रियादको दक्षिणपूर्वमा रहेको प्रिन्स सुल्तान एयर बेसतर्फ प्रक्षेपण गरिएको एक ब्यालेस्टिक मिसाइललाई अवरोध गरी नष्ट गरिएको जनाएको थियो ।
उक्त जानकारी मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको थियो । पछि साउदी प्रेस एजेन्सीले सोही हवाई अड्डातर्फ अर्को क्षेप्यास्त्र प्रहार गरिएको रिपोर्ट गरेको छ । रक्षा मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै उक्त मिसाइल पनि सफलतापूर्वक अवरोध गरिएको बताइएको छ ।
समाचार एजेन्सीका अनुसार संयुक्त अरब इमिरेट्सको सीमाना नजिकै रहेको शायबाह तेल क्षेत्रलाई लक्षित गरी कम्तीमा १७ वटा ड्रोन आक्रमण गरिएको थियो । ती सबै ड्रोनहरू अवरोध गरी नष्ट गरिएको बताइएको छ । यसका अतिरिक्त रियादको पूर्वी क्षेत्रमा लक्षित गरी प्रक्षेपण गरिएका दुईवटा ड्रोन पनि रोकिएको रक्षा मन्त्रालयले जनाएको छ । लगातार भइरहेका यस्ता प्रयासहरूले खाडी क्षेत्रको सुरक्षा अवस्थाबारे थप चिन्ता उत्पन्न गरिरहेको अधिकारीहरूले बताएका छन् । –रासस/एएफपी

प्रतिक्रिया