खामेनीका उत्तराधिकारीबारे बहुमत सहमति

नेपालखोज २०८२ फागुन २४ गते १६:११

तेहरान । इरानका दिवङ्गत सर्वोच्च नेता आयातुल्ला अली खामेनीको उत्तराधिकारी चयन प्रक्रियामा महत्त्वपूर्ण प्रगति भएको बताइएको छ । तेहरानस्थित मेहर समाचार एजेन्सी (एमएनए) का अनुसार इरानको शक्तिशाली धार्मिक निकाय ‘एसेम्बली अफ एक्सपर्ट्स’ भित्र खामेनीको उत्तराधिकारीको विषयमा बहुमत सहमति बनेको जनाइएको छ, यद्यपि औपचारिक घोषणा भने अझै हुन बाँकी रहेको छ ।

एसेम्बली अफ एक्सपर्ट्सका सदस्य मिरबाकेरीलाई उद्धृत गर्दै उक्त प्रतिवेदनले उत्तराधिकारी चयनको विषयमा अधिकांश सदस्यहरूबीच सहमति बनेको उल्लेख गरेको छ । तर केही प्रक्रियागत अवरोधहरू समाधान गर्न बाँकी रहेकाले नेतृत्व हस्तान्तरणको प्रक्रिया अझै पूर्ण रूपमा सम्पन्न नभएको बताइएको छ ।

खामेनीको हत्या भएपछि उत्पन्न नेतृत्व शून्यताबीच उत्तराधिकारी चयनको प्रक्रिया अघि बढिरहेको हो । ८६ वर्षका खामेनीको मृत्यु अमेरिकासँग सम्बन्धित र इजरायली आक्रमणसँग जोडिएको घटनामा भएको बताइएको छ । त्यसपछि इरानको राजनीतिक तथा सुरक्षा अवस्था थप संवेदनशील बनेको छ ।

यसबीच इरानको नेतृत्व परिषद्ले पनि उत्तराधिकारी नियुक्ति प्रक्रिया अगाडि बढिरहेको सङ्केत दिएको छ । यस हप्ताको बुधबार परिषद्ले राज्य सञ्चारमाध्यमलाई चाँडै नै नयाँ सर्वोच्च नेता नियुक्त गरिने जानकारी दिएको थियो । तस्निम समाचार एजेन्सीले सार्वजनिक गरेको भिडियोमा एक सरकारी अधिकारीले राज्य टेलिभिजनसँग कुरा गर्दै नेतृत्वको विषयमा कुनै जटिल समस्या उत्पन्न नभएको बताएका छन् । उनका अनुसार हाल नेतृत्व परिषद्ले नै देशको प्रशासनिक जिम्मेवारी सम्हालिरहेको छ ।

‘भगवानको कृपाले हामी निर्णयको नजिक पुगेका छौँ, तर अहिलेको परिस्थिति युद्धको अवस्था हो’, उनले उनले भनेका थिए । उनले हालको सङ्क्रमणकालीन अवस्थालाई इरानका संस्थापक नेता आयातोल्लाह रुहोल्लाह खामेनीको निधनपछि भएको नेतृत्व परिवर्तनसँग तुलना गरेका छन् । उनका अनुसार त्यसबेला तत्कालै नयाँ नेता नियुक्त गर्न सम्भव भएको थियो, किनकि देश युद्धको अवस्थामा थिएन । अहिले भने क्षेत्रीय तनाव र सैन्य द्वन्द्व जारी रहेकाले प्रक्रिया केही जटिल बनेको उल्लेख गरिएको छ ।

यद्यपि यस्तो परिस्थितिमा पनि एसेम्बली अफ एक्सपर्ट्स सक्रिय रूपमा नयाँ सर्वोच्च नेता चयन गर्ने प्रक्रियामा जुटिरहेको उनले बताए । यसबीच सम्भावित उत्तराधिकारीका विषयमा विभिन्न अड्कलबाजी पनि भइरहेका छन् । इजरायली सञ्चारमाध्यमहरूले खामेनीका छोरा मोजताबा खामेनीलाई उत्तराधिकारीका रूपमा चयन गरिएको दाबी गरेका थिए । तर इरान सरकारले ती दाबीहरूलाई अस्वीकार गरेको छ ।

मुम्बईस्थित इरानी महावाणिज्य दूतावासले सामाजिक सञ्जाल एक्समार्फत वक्तव्य जारी गर्दै उत्तराधिकारीका सम्भावित उम्मेदवारबारे मिडियामा प्रसारित समाचारहरूको कुनै आधिकारिक आधार नभएको जनाएको छ । राजनीतिक रूपमा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढिरहेका बेला इरानमा दिवङ्गत सर्वोच्च नेता खामेनीप्रति श्रद्धाञ्जली कार्यक्रम पनि सुरु भएको छ ।

इरानको राज्य सञ्चारमाध्यमका अनुसार तेहरानस्थित इमाम खामेनी प्रार्थना मैदानमा आज राति नागरिकहरूले खामेनीलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम तय गरिएको छ । ती श्रद्धाञ्जली कार्यक्रम तीन दिनसम्म सञ्चालन हुने अपेक्षा गरिएको छ ।

अन्तिम अन्त्येष्टि जुलुसको मिति र स्वरूप भने औपचारिक निर्णय भएपछि घोषणा गरिने बताइएको छ । खामेनीको मृत्यु भएको घटनापछि मध्यपूर्व क्षेत्रमा तनाव तीव्र रूपमा बढेको छ । अमेरिका र इजरायलसँग सम्बन्धित आक्रमणमा खामेनीसहित इरानका केही वरिष्ठ अधिकारीहरू मारिएको बताइएको छ ।

यसको प्रतिक्रियास्वरूप तेहरानले पनि प्रतिआक्रमण सुरु गरेको छ । इरानले यस क्षेत्रका अमेरिकी सैन्य अड्डा तथा इजरायलसँग सम्बन्धित लक्ष्यहरूलाई निशाना बनाउँदै कारबाही जारी राखेको बताइएको छ । –रासस/एएनआई

प्रतिक्रिया