यी हुन्, पैँतीस वर्षमुनिका माननीयहरू

काठमाडौँ । गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनपछि सिर्जित विशेष राजनीतिक परिस्थितिबीच सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । अधिकांश निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ भने समानुपातिकतर्फको मतगणना प्रक्रिया अझै जारी छ । तर, यसपटकको निर्वाचनले नेपाली राजनीतिमा नयाँ पुस्ताको बलियो प्रवेश गराएको छ ।
यसपटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा ३५ वर्षमुनिका युवाले उल्लेखनीय सफलता हात पारेका छन् । पुराना पुस्ताको बाक्लो उपस्थिति रहेको संसद्मा अब भने नयाँ पुस्ताको उपस्थिति उल्लेखनीय रूपमा देखिने भएको छ ।
विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएका धेरै युवा पुस्ताले विभिन्न निर्वाचन क्षेत्रमा प्रभावशाली मतसहित विजय हासिल गरेका छन् । उनीहरूको जितले नयाँ सोचलाई अवसर दिन चाहेको सन्देश दिएको छ ।
अब संसद्मा प्रवेश गरेका यी युवा सांसदहरूले जनताले राखेको अपेक्षा कत्तिको पूरा गर्न सक्छन् भन्ने हेर्न बाँकी छ । यस निर्वाचनको परिणामले नेपाली राजनीतिमा पुस्तान्तरणको बहसलाई नयाँ ऊर्जा दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ३५ वर्षमुनिका २० जना उम्मेदवार निर्वाचित भएका छन् ।
यसैगरी, नेपाली कांग्रेसबाट एक, श्रम संस्कृति पार्टीबाट एक, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक जना गरी यसपटक २३ जना ३५ वर्षमुनिका उम्मेदवारले प्रत्यक्ष चुनाव जितेका छन् । ३५ वर्षमुनिका सांसदको अग्रसूचीमा ३० वर्षीया सोविता गौतम छिन् । दोलखाको तामाकोशी गाउँपालिका जामुनेमा जन्मिएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य गौतम चितवन–३ बाट विजयी भएकी हुन् ।
उनले ५९ हजार २७७ मत ल्याएर विजय हासिल गरेकी हुन् । गौतमकी निकटतम प्रतिस्पर्धी रेणु दाहालले २० हजार ६१५ मत प्राप्त गरेकी थिइन् । ३० वर्षको उमेरमा उनी दोस्रोपटक प्रतिनिधिसभाको सांसद बनेकी हुन् । उनले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ–२ बाट जित हासिल गरेकी थिइन् । कानुनमा स्नातक गरेकी अधिवक्ता गौतम अत्यधिक मतका साथ विजयी भएकी हुन् ।
पैँतीस वर्षमुनिकै अर्का सांसद सुलभ खरेल हुन् । २०५४ साल भदौमा बुटवलमा जन्मिएका खरेल २८ वर्षको उमेरमै सांसद बनेका हुन् । उनी प्रतिनिधिसभा सदस्य निर्वाचनमा रूपन्देही–२ बाट ५६ हजार ५५० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी पूर्वअर्थमन्त्री नेकपा (एमाले) का उम्मेदवार विष्णु पौडेलले १२ हजार ८६१ मत ल्याएका थिए । खरेलले नेपाल ल क्याम्पसबाट पाँचवर्षे बिए–एलएलबी अध्ययन गरेका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुविना आचार्य विजयी भएकी छन् । विराटनगरमा जन्मिएकी आचार्यले ५५ हजार ५१३ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले १२ हजार ८५० मत ल्याएका थिए ।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको चुनावमा बदनकुमार भण्डारी विजयी भएका छन् । भुम्लु गाउँपालिका–२ मा जन्मिएका भण्डारीले ५३ हजार ३४४ मतसहित विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार मधुप्रसाद आचार्यले १७ हजार ८६८ मत ल्याएका थिए । भण्डारी ई–कमर्स व्यवसायी तथा मिडियाकर्मी हुन् । ३३ वर्षीय भण्डारीले स्नातक (बिए) उत्तीर्ण गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट झापा–१ बाट निर्वाचित २९ वर्षीय निशा डाँगी पनि कम उमेरमै सांसद बनेकी छन् । उनी २०७९ को प्रतिनिधिसभा सदस्यमा समानुपातिकबाट सांसद बनेकी थिइन् । डाँगीले यसपटक प्रत्यक्षतर्फ उम्मेदवार बन्ने अवसर पाएकी थिइन् । उनले ४५ हजार ६८० मतसहित विजय हासिल गरिन् । डाँगीकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार केशवराज पाण्डेले १० हजार ५५० मत ल्याएका थिए ।
विसं २०५३ मा झापाको भद्रपुर नगरपालिकामा जन्मिएकी डाँगीले काठमाडौँको जया मल्टिपल क्याम्पसबाट सामाजिक कार्यमा स्नातक र त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर गरेकी छन् ।
२६ वर्षीय मनीष खनाल पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट नवलपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले ४१ हजार ३४७ मतसहित विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार तिलबहादुर महत क्षेत्रीले १५ हजार ७५५ मत ल्याएर उपविजेता बनेका थिए । मध्यविन्दु नगरपालिका–६ निवासी खनाल विसं २०५६ असार ११ गते जन्मिएका हुन् । उनले नेपाल ल क्याम्पसबाट कानुन विषयमा स्नातक अध्ययन गरेका छन् ।
२८ वर्षीय बब्लु गुप्ता पनि निर्वाचित भएका छन् । उनले सिरहा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरेका हुन् । सामाजिक सेवामा सक्रिय गुप्ताले स्नातकसम्मको अध्ययन पूरा गरेका छन् । उनले ४१ हजार ३२२ मतसहित विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसुन्दर चौधरीले नौ हजार ७७४ मत ल्याएका थिए ।
रास्वपाबाटै ३५ वर्षमुनिका निर्वाचित उम्मेदवारमध्ये सन्तोष राजवंशी मोरङ–४ बाट विजयी भएका छन् । सिराहा–२ बाट रास्वपाका ३० वर्षीय शिवशङ्कर यादव पनि निर्वाचित भएका छन् । रास्वपाबाटै ३३ वर्षीय तपेश्वर यादव सिरहा–४ बाट निर्वाचित भएका छन् । महोत्तरी–२ मा ३४ वर्षीय दीपककुमार साह निर्वाचित भएका छन् । महोत्तरी–३ बाट ३३ वर्षीय उज्ज्वलकुमार झा निर्वाचित भएका छन् ।
काठमाडौँ–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार २९ वर्षीय सस्मित पोखरेल निर्वाचित भएका छन् । २०५२ फागुन १ गते काठमाडौँमा जन्मिएका पोखरेलले कानुनमा स्नातक गरेका छन् । उनी रास्वपाका केन्द्रीय सदस्य तथा सहप्रवक्ता हुन् ।
काठमाडौँ महानगरपालिका कार्यालयमा सह–विशेषज्ञ भएर काम गरेका पोखरेलसँग महानगरका सेवा–प्रवाह, कार्यक्रम तथा परियोजना कार्यान्वयन र नतिजा निकाल्ने कार्यान्वयन अनुभव छ । उनले काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाहका सल्लाहकारका रूपमा पनि काम गरेका छन् ।
पोखरेलले सांसद कार्यालयमा प्रमुख सहायक भएर पनि काम गरेका छन् । उनीसँग नीति–अनुसन्धान, जनगुनासा व्यवस्थापन, टोली परिचालन र समन्वयमार्फत काम टुङ्ग्याउने कार्यालय व्यवस्थापन अनुभव छ ।
मकवानपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका २५ वर्षीय प्रशान्त उप्रेतीले चुनाव जितेका छन् । २०५७ सालमा मकवानपुरमा जन्मिएका उप्रेती पेसाले पर्यटन उद्यमी हुन् । उनले पर्यटन व्यवस्थापनमा स्नातक गरेका छन् ।
निर्वाचित हुने अर्का ३४ वर्षीय उम्मेदवार सागर ढकाल हुन् । रास्वपाका तर्फबाट गुल्मी–१ बाट उनी निर्वाचित भएका छन् । गुल्मीको सत्यवती गाउँपालिका–६, पीपलनेटा स्थायी ठेगाना भएका ढकाल पेसाले इन्जिनियर हुन् ।
पैँतीस वर्षमुनिका अर्का सांसद प्युठान–१ बाट निर्वाचित ३१ वर्षीय सुशान्त वैदिक हुन् । काठमाडौँ–१ बाट निर्वाचित र ३५ वर्षमुनिका अर्को चर्चित नाम रञ्जु न्यौपाने (दर्शना) हुन् । वैकल्पिक राजनीतिका रूपमा उदाएकी ३० वर्षीया रञ्जुले स्नातक तहसम्म अध्ययन गरेकी छन् ।
रास्वपाका अर्का निर्वाचित सांसद ३४ वर्षीय सोम शर्मा हुन् । उनी बाग्लुङ–२ बाट निर्वाचित भएका छन् । रास्वपाका तर्फबाट स्याङ्जा–२ का उम्मेदवार झविलाल डुम्रे २५ हजार ३५४ मत ल्याएर विजयी भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाटै सप्तरी–२ का उम्मेदवार ३० वर्षीय रामजी यादव २८ हजार ४०४ मत ल्याएर विजयी भएका छन् ।
कैलाली–२ का रास्वपा उम्मेदवार केपी खनाल १९ हजार ५७ मत ल्याएर विजयी भएका छन् । २६ वर्षीय खनाल १३ वर्षदेखि सामाजिक अभियानमा सक्रिय छन् । उनले ‘क्लिन काष्ठमण्डप’ र ‘काठमाडौँ ट्र्यास कलेक्सन’ जस्ता देशव्यापी सरसफाइ अभियानको नेतृत्व गरेका छन् । ‘मैना देवी फाउन्डेसन’ मार्फत बाजुरामा अनाथालय स्थापना, कोरोनाकालमा २०० भन्दा बढी गरिब परिवारलाई सहयोग तथा ‘भोकै छ हुम्ला’ जस्ता मानवीय अभियानको नेतृत्व गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सिराहा–४ बाट ३३ वर्षीय तपेश्वर यादव निर्वाचित भएका छन् । महोत्तरी–३ बाट ३३ वर्षीय उज्ज्वलकुमार झा निर्वाचित भएका छन् ।
यसैगरी, प्युठान–१ का उम्मेदवार ३१ वर्षीय सुशान्त वैदिक निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट ३२ वर्षीय योगेश गौचन थकाली मुस्ताङ–१ बाट निर्वाचित भएका छन् । यसैगरी, जुम्ला–१ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ३४ वर्षीय ज्ञानबहादुर शाही निर्वाचित भएका छन् । श्रम संस्कृति पार्टीबाट २९ वर्षीय आरेन राई खोटाङ–१ बाट निर्वाचित भएका छन् ।

प्रतिक्रिया