वैध लागूऔषधसहित विभिन्न स्थानबाट ८ जना पक्राउ

काठमाडौं । कञ्चनपुरको बेलौरी नगरपालिका–१० बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ३० मिलिग्राम सहित शुक्लाफाँटा नगरपालिका–५ प्रगती टोल बस्ने २४ वर्षीय हरिश भट्टलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुँडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.७ प २९३७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ७० मिलिग्राम सहित कैलाली धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने २ जना १८ वर्षीय किशोरहरूलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बेलडाँडी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका–१ त्रिबेणी चोकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब २ किलो ५८ ग्राम सहित सोही ठाउँ बस्ने ६९ वर्षीय डम्बर बहादुर शाही समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले डम्बर बहादुरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ६ सय ८० मिलिग्राम सहित इलाम सूर्योदय नगरपालिका–११ बस्ने ३२ वर्षीय पासाङ छिरिङ काजीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
गूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.३८ प ६९२३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका–३ झण्डिनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने भारत उत्तर प्रदेश सिद्वार्थनगर बरहनी घर भएका २३ वर्षीय मोहसिन हाशमीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरको हो । साथै थप अनुसन्धानको क्रममा प्रहरीले कृष्णनगर नगरपालिका–२ यात्रुगेटबाट भारत सिद्धार्थनगर वढनी बस्ने २३ वर्षीय दिपेन्द्र कश्यपलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित आइतबार दिउँसो पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
१७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरगंज महानगरपालिका–१५ भेडियाही बस्ने ५० वर्षीय भुटन साह भन्ने रामजनम साहलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । साहले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी भिष्वाडाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
सर्लाहीको कविलासी नगरपालिका–७ गैरस्थित सडकमा गैरबाट कविलासीतर्फ जाँदै गरेको बिआर ३० एपि २३१५ नम्बरको मोटरसाइकल आइतबार राति दुर्घटना हुँदा चालक कविलासी नगरपालिका–८ बस्ने २३ वर्षीय पपु साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि वीरगंज रिफर गरिएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–९ इनारपानीस्थित सडकमा सिन्धुलीबाट दुधौलीतर्फ जाँदै गरेको प्र.१–०५–००१ प ९५५७ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ८२ वर्षीया कौशिला माया गिरीको आइतबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शुभस्वस्तिक अस्पताल बर्दीबासमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१० कपन बालुवाखानी नगर अस्पताल नजिक झ्याङमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । इलामको सुर्योदय नगरपालिका–४ उनिउटार बस्ने ५४ वर्षीय दिल कुमार तामाङ आफ्नै घर नजिक बाटोमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
सर्लाहीको ईश्वरपुर नगरपालिका–३ अस्पताल चोकस्थित रूप नारायण ठाकुरको लक्ष्मी सह मिलमा आइतबार बिहान आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । उदयपुरको त्रियुगा नगरपालिका–६ लालपत्ता बस्ने नन्दमाया ढुङ्गानाको गोठमा आइतबार दिउँसो आगलागी हुँदा करिब २ लाख २८ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । झापाको गौरीगंज गाउँपालिका–६ भारू चोक बस्ने तुलसी साहको घुम्ती किराना पसलमा विद्युत सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा करिब २ लाख ४ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
यसैगरी झापाको भद्रपुर नगरपालिका–९ बुद्धटोल बस्ने मंकरध्वज आङदेम्बेको भान्साघरमा आइतबार दिउँसो आगलागी हुँदा करिब ३ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । मोरङको बुढीगंगा गाउँपालिका–५ बसन्ती चोक बस्ने ६० वर्षीय सुधिर पंडितको घरमा विद्युत सर्ट भई आइतबार राति आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–७ आग्रसे टोल बस्ने ५५ वर्षीय वेदमाया घिमिरेको घरमा बा.प्र.०३–००६ प ४६२० नम्बरको इलेक्ट्रिक स्कुटर चार्ज गर्ने क्रममा आइतबार राति आगलागी हुँदा स्कुटर लगायतका विभिन्न सरसामान जलेर करिब ४ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया