शुक्लाफाँटामा बाघ गणना सुरु

नेपालखोज २०८२ फागुन २६ गते १७:५०

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मङ्गलबारदेखि बाघ गणना सुरु भएको छ । राष्ट्रिय बाघ गणनाअन्तर्गत शुक्लाफाँटासँगै यहाँको लालझाडी–मोहना संरक्षित क्षेत्र र डडेलधुराको जोगबुडामा स्वचालित क्यामेरा जडान गरी बाघ गणना थालिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ ।

आज बिहान एक कार्यक्रम आयोजना गरी निकुञ्ज कार्यालयले औपचारिक रुपमा बाघ गणना सुरु गरेको हो । शुक्लाफाँटा–लालझाडी–जोगबुडलाई दुई गुणा दुई किलोमिटरका २६० ग्रिडमा विभाजन गरिएको निकुञ्ज कार्यालयले जनाएको छ ।

यसअघि ४३ पाटेबाघ गणना गरिएको शुक्लाफाँटामा हरेक वर्ष बाघ गणना गरिँदै आएको छ । ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा मुलुकमै थोरै क्षेत्रफलमा धेरै बाघ भएको निकुञ्ज हो ।

आहार प्रजातिको पर्याप्तताका कारण यहाँ बाघको सङ्ख्या धेरै भएको जनाइएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले बाघ गणनाका लागि ५८० स्वचालित क्यामेरा जडान गरिनाका साथै ७७ जनाको प्राविधिक टोली खटिने जानकारी दिए ।

प्रतिक्रिया