केन्यामा सडक दुर्घटनामा १४ जनाको मृत्यु, १६ घाइते

वेबुये, केन्या । पश्चिम केन्यामा सोमबार राति भएको सडक दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । प्रहरीले मङ्गलबार यस जानकारी पुष्टि गरेको छ ।
दुर्घटना स्थानीय समय अनुसार राति करिब ९ः४५ बजे वेबुये–किटाले राजमार्गको मलाहा क्षेत्रमा भएको थियो । प्रारम्भिक रिपोर्ट अनुसार दुई मोटरसाइकल चालक एकअर्कासँग ठोकिँदा दुवैको घटनास्थलमै मृत्यु भयो ।
त्यसबेलामा घटनास्थलमा सहायता गर्न भेला भएका पैदलयात्रीमाथि किटालेबाट वेबुये तर्फ आउँदै गरेको ट्रक नियन्त्रण गुमाउँदै ठक्कर दियो, जसका कारण १० जनाको तत्काल मृत्यु भयो ।
अस्पतालमा उपचारका क्रममा थप चार घाइतेको मृत्यु भएपछि मृत्यु सङ्ख्या १४ पुगेको छ । अहिले १६ घाइतेको अवस्था गम्भीर रहेको जनाइएको छ । केन्यामा सडक दुर्घटना एक ठूलो चुनौतीको रूपमा रहँदै आएको छ ।
राष्ट्रिय यातायात तथा सुरक्षा प्राधिकरण लगायत सम्बन्धित निकायहरूले सुरक्षा उपाय लागू गर्दै आएका भए पनि हालका वर्षहरूमा वार्षिक मृत्युको सङ्ख्या चार हजार ३०० भन्दा बढी रहेको छ । -रासस/सिन्ह्वा

प्रतिक्रिया