कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

वीरगञ्ज (पर्सा) । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा कालोसूचीमा पर्ने प्रावधानका विषयमा अध्ययन गरिरहेको बताएका छन् ।
आज यहाँ आयोजित कार्यक्रममा उहाँले कालोसूचीमा राख्ने प्रावधानको विषयमा आफूले गम्भीरतापूर्वक अध्ययन गरिरहेको जानकारी दिए । ‘चेक ब्याउन्स हुने वित्तिकै कालोसूचीमा राख्ने विषयमा पनि हामीले अध्ययन गरिरहेका छौँ,’ उनले भने, ‘कालोसूचीमा पर्नेहरुको सूची छोटो कसरी बनाउने विषयमा लागिरहेका छौँ । चेक बाउन्स र बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका धेरै मानिस कालोसूचीमा पर्ने गरेको देखिएको छ’ उनले भने, ‘कालोसूचीमा राख्नुपर्ने कति हुन । कालोसूचीमा नराख्नुपर्ने कति हुन भन्ने विषयमा हामीले हेरिराखेका छाैं । यसको बारेमा मैले विस्तृत रुपमा हेरिरहेको छु ।’
गर्भनर पौडेलले धेरै कडाइ गरेर वा थुनेर मात्रै व्यापार÷व्यवसाय मात्रै नभएर मुलुक पनि नचल्ने पनि बताए । गर्भनर पौडेलले व्यवसाय गर्न खोज्नेले एक पटक गल्ती गर्दैमा दुःख दिन नहुने बताए ।
फरक प्रसङ्गमा गभर्नर पौडेलले डिजिटल प्रविधिमा आधारित सूचना प्रविधि उद्योगलाई प्रोत्साहन गर्ने नीति अङ्गिकार गर्दै आइरहेको बताए ।
उनले भविष्यमा ठूलो सम्भावना बोकेको क्षेत्र भएकाले पनि सूचना प्रविधि क्षेत्रलाई प्रथामिकतामा राख्दै आइरहेको बताए । नेपालका आइटी कम्पनीलाई विदेशीमुलुकमा लगानी गर्नका लागि पनि सहज वातावरण बनाउँदै आइरहेको दाबी गरे ।

प्रतिक्रिया