धार्मिक महत्वको लुङबुक गुफा

मुस्ताङ । यहाँस्थित वारागुङ मुक्तिक्षेत्र–५ फल्याक र धाकार्रजुङ गाउँमाथिको उच्च लेकमा एक विशाल चट्टानरुपी पहाड छ । त्यही पहाडको तल्लो भागमा एक गुफा छ । यही गुफाको नाम हो– लुङबुक गुफा ।
अहिले यस गुफाको करिब ७० प्रतिशत भाग पूरै हिउँले ढाकिएको छ । बर्खायाममा सामान्य देखिने लुङबुक गुफाको स्वरूप हिउँदयाममा पूरै स्वरूप परिवर्तन हुन्छ । अक्सर यो लुङबुक गुफा बर्सेनि मङ्सिरदेखि चैत महिनासम्म हिउँको घुम्टोभित्र लुकेको हुन्छ । अझै भनौँ पुस र माघमा गुफा अवलोकन गर्न जाने हो भने लुङबुक गुफाको सबै भागलाई हिउँले ढाकिदिएको हुन्छ ।
ऐतिहासिक तथा धार्मिक सम्पदाले भरिएको लुङबुक गुफालाई पुस र माघमा विशाल पहाडको उचाइबाट फेदैसम्म सेताम्मे हिउँको बरफका ढिस्का ढिस्काले छपक्कै ढाकिएको हुन्छ । तर, जाडोयाममा यहाँ खासै कोही नजाने हुनाले गुफाको वास्तविक स्वरूप र हिउँदयामको मौसममा गुफाको प्राकृतिक सौन्दर्यताबाट धेरैजसो पर्यटक बेखबरजस्तै हुने गर्छन् ।
लुङबुक गुफा पन्ध्रौँ शताब्दीमा गुरु रिन्पोछे अर्थात् पद्मसम्भवले ध्यान साधना गरेको धार्मिकस्थलका रूपमा लिने गरिन्छ । गुरु पद्मसम्भव त्यसबेला तिब्बत जाने क्रममा यहाँ अवस्थित लुङबुक गुफामा बसेर ध्यान साधना गरेको भन्ने धार्मिक किंवदन्ती रहेको वारागुङ मुक्तिक्षेत्र–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए । उनले पद्मसम्भवले ध्यान साधना गरेको स्थान लुङबुक गुफालाई यहाँको फल्याक र धाकार्रजुङ गाउँका स्थानीयले साझा धार्मिकस्थलका रूपमा लिने गरेको बताए ।
हिउँदयाममा पूरै हिउँको घुम्टोभित्र लुक्ने लुङबुक अवलोकनका लागि पछिल्लो समय पर्यटक त्यहाँ पुग्ने गरेको पाइएको छ । बर्खायामभन्दा हिउँदयाममा हिउँले ढाकिएको गुफाको सौन्दर्य नियाल्न पर्यटक त्यहाँ पुग्ने गरेका पाइएको छ । लुङबुक गुफाको दर्शन गर्ने र हिउँले ढाकिएको गुफाको प्रोफाइल राख्न फोटो खिच्ने उद्देश्यले पनि हिउँदयाममा पर्यटक केही बढी जाने गरेको वडाध्यक्ष गुरुङको भनाइ छ ।
हिउँदयाममा हिउँले ढाकिने लुङबुक गुफा गर्मीयाममा विस्तारै पग्लिएर सामान्य स्वरुपमा रहने वडाध्यक्ष गुरुङको भनाइ छ । लुङबुक गुफाभित्र सानो चट्टान प्वालबाट मुन्टो निहुराएर मुस्किलले प्रवेश गर्न सकिन्छ । हिउँदयाममा हिउँ जमेर बस्ने भएकाले गुफाभित्र पस्न सकिँदैन । हिउँको बरफ पग्लिने समय चैत–वैशाखदेखि कात्तिकसम्म गुफा प्रवेश गर्न सकिन्छ ।
स्याङ्जाका पर्यटक नारायण पौडेलले लुङबुक गुफाको दर्शन र हिउँले ढाकिएको गुफाको प्राकृतिक सौन्दर्यताले मोहित तुल्याएको बताए । बुद्ध धर्म र पद्मसम्भवसँग जोडिएको हुनाले गुफाको धार्मिक महत्त्व अधिक रहेको र यसको प्रचारप्रसार गर्न सके पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने बताए ।
लुङबुक गुफालाई बुद्ध धर्मअन्तर्गत निङमापा धर्म सम्प्रदायसँग जोडिएको बताइन्छ । गुफामा पुगेर धार्मिक अनुष्ठान गरेमा मोक्ष प्राप्ति हुने भएकाले स्थानीय नागरिकमा ठुलो आस्था र विश्वास छ । गुफाभित्र आश्चर्यचकित लाग्ने प्राकृतिक रूपले निर्मित धार्मिक सम्पदा जीवन्त छ । गुफाभित्र पद्मसम्भवका ससाना प्रतिमा देख्न सकिन्छ । सन्तान नभएकाले सन्तान प्राप्तिका लागि गुफाभित्र दर्शन गरेमा सन्तान प्राप्ति हुने धार्मिक जनविश्वास छ ।
जोमसोमका स्थानीय पवन गुरुङले लुङबुक गुफा एक पटक दर्शन गर्नै पर्ने धार्मिक गन्तव्य रहेको बताए । सेताम्मे हिउँले ढाकिएको गुफामा पुग्दा गौरवान्वित महसुस भएको गुरुङले उल्लेख गरे । जोमसोम–कोरला मुख्य राजमार्गदेखि २० मिनेटको सवारीसाधनको यात्रा र ४५ मिनेटको पैदलयात्रापछि लुङबुक गुफा पुग्न सकिन्छ ।
गुफाको रेखदेख तथा संरक्षणका साथै गुफामा पुग्ने भक्तजनलाई पकाएर खाने र बस्नेसमेत व्यवस्था फल्याक र धाकार्रजुङका गाउँ समाजले गरेको छ । गुफासम्म पुग्ने गोरेटो बाटो प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले निर्माण गरेको छ ।

प्रतिक्रिया