नेपाली मूलका नागरिकलाई नेपाली पहिचान दिन माग

नेपालखोज २०८२ चैत ३ गते २०:३९

काठमाडौं । एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले विश्वभरका नेपाली मूलका नेपालीलाई नेपालसँग जोड्न र नेपालीको पहिचानसहितको परिचयपत्रको व्यवस्था गर्न माग गरेको छ । परराष्ट्रमन्त्री बालानन्द शर्मालाई आज भेटेर एएनओको प्रतिनिधिमण्डलले सो माग गरेको हो ।

एएनओका अन्तरराष्ट्रिय अध्यक्ष डिल्ली अधिकारी, उपाध्याक्ष सुशील पन्त, महासचिव चूडामणि भट्टराई, नेपाल च्याप्टरका अध्यक्ष कृष्णप्रसाद सापकोटा लगायतको प्रतिनिधिमण्डलले मन्त्री शर्मालाई उक्त मागपत्र बुझाएको हो ।

सो पत्रमा पुस्तौँदेखि विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिकलाई परिचय पत्रको व्यवस्था गर्न एवं त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन कक्षमा ‘नेपाली ओरिजन’ का लागि छुट्टै डेस्क राख्न पनि माग गरिएको छ ।

साथै पूर्वी नेपालका विभिन्न शिविरमा बाँकी रहेका झण्डै सात हजारको सङ्ख्याका भुटानी शरणार्थीको मानवअधिकारको रक्षा गरी मानवीय दृष्टिकोणबाट उचित व्यवस्थापन गर्न माग गरिएको एएनओले विज्ञप्तिमार्फत जनाएको छ । त्यस अवसरमा मन्त्री शर्माले एएनओका मागहरु नेपालकै पहिचानको विस्तारलाई सघाउने प्रकृतिका रहेकाले यसलाई नेपाल सरकारले गम्भीर रुपमा लिने धारणा राखे ।

उनले आफू सैनिक सेवामा रहँदा पुस्तौँअघि बाहिरिएका नेपाली मूलका मानिसहरु भेट्ने अवसर पाएको अनुभव सुनाउँदै उहाँहरुलाई पुख्र्यौली देशसँग जोड्ने सार्थक अभियान अघि बढ्ने विश्वास व्यक्त गरे ।

एएनओका अन्तरराष्ट्रिय अध्यक्ष अधिकारीले विश्वमा रहेका नेपाली जातिका नागरिकप्रति नेपाल सरकार सहयोगी बनेमा उनीहरुको ज्ञान, सीप र ठूलोमात्रामा लगानी नेपालमा भित्र्याउन सकिने बताए ।

एएनओका उपाध्यक्ष तथा वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त र महासचिव चूडामणि भट्टराईले नेपालीमन र नेपालीपनलाई जोड्दै एएनओ अघि बढेको जानकारी दिँदै सरकारले यस विषयलाई राष्ट्रहितका पक्षमा विचार गर्न आग्रह गरे ।

प्रतिक्रिया