श्रीमतीमाथि गोली प्रहारपछि आत्महत्याको प्रयास

नेपालखोज २०८२ चैत ५ गते ९:५५

सुदूरपश्चिम । कैलालीको गोदावरी नगरपालिका–४ अमेलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले आफ्नी श्रीमती २७ वर्षीया सञ्जिता मगरको गोली हानी हत्या गरेपछि आफैँमाथि गोली प्रहार गरेका छन् ।

गोली लागेर सञ्जिताको घटनास्थलमै मृत्यु भएको छ । घाइते रामबहादुरलाई बेहोस अवस्थामा सेती प्रादेशिक अस्पताल धनगढी पु¥याइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

बुधबार अपराह्न गाउँ नजिकैको जङ्गलमा बाख्रा चराइरहेका बेला श्रीमती सञ्जितासँग रामबहादुरले विवाद गरी आफ्नो साथमा रहेको भरुवा बन्दुकले प्रहार गरेको स्थानीयवासीलाई उद्धृत गर्दै प्रहरी प्रवक्ता तिमिल्सिनाले जानकारी दिए ।

उनले भने, ‘गए राति स्थानीयवासीले जानकारी दिएपछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ, घटना भएको समय यकिन भइसकेको छैन’, मृतक महिलाका माइती पक्ष आएपछि मात्र शव उठाउने तयारी भइरहेको छ । –रासस

प्रतिक्रिया