सडक विस्तारका क्रममा पहिरो खस्दा दुई जनाको मृत्यु

नेपालखोज २०८२ चैत ११ गते २१:००

त्रिशूली (नुवाकोट) । नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारका क्रममा खसेको पहिरोमा पुरिएर हराइरहेका स्काभेटर चालकको शव आज साँझ निकालिएको छ ।

योसँगै पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या दुई जना पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए ।

उनका अनुसार गौजेनीस्थित मैदानबाट लप्सेतर्फ जाने स्थानीय सडक विस्तारका क्रममा आज दिउँसो २ः०० बजेतिर माथिबाट खसेको ठूलो ढुङ्गासहितको पहिरोमा पुरिएर स्थानीय फूलमान तामाङ र स्काभेटर चालक अमृत तामाङको मृत्यु भएको हो ।

सडक निर्माणअन्तर्गत उपभोक्ता समितिका कोषाध्यक्षसमेत रहेका ३५ वर्षीय फूलमानलाई घटनालगत्तै पहिरोबाट मृत अवस्थामा उद्धार गरिएको थियो ।

पहिरोमा परेर स्काभेटरसहित बेपत्ता भएका चालक २४ वर्षीय अमृतको शव नेपाली सेनासहितको सुरक्षा निकायले पाँच घण्टापछि उद्धार गरेको हो ।

शव परीक्षणका लागि त्रिशूली अस्पतालमा पठाइएको छ । घटनास्थलमा थप क्षतिको सम्बन्धमा प्रहरीले खोजतलास जारी राखेको जनाएको छ ।

प्रतिक्रिया