प्रि-मनसुनको महिना : औसतभन्दा बढी वर्षा

नेपालखोज २०८२ चैत १८ गते १७:१९

काठमाडौं । प्रि-मनसुन अवधिमा हालसम्म देशभर औसतभन्दा बढी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् बिनु महर्जनका अनुसार यस वर्ष पनि मङ्गलबारसम्मको अवधिमा हुनुपर्ने औसतभन्दा बढी वर्षा मापन भइसकेको छ ।

‘हालसम्म करिब २९ दशमलव पाँच प्रतिशत वर्षा भइसकेको छ । यस अवधिमा सामान्यतया २० प्रतिशत मात्र वर्षा हुने गर्दछ’, उनले भने, ‘फागुन १५ गतेदेखि जेठ १५ गतेसम्मको अवधिलाई प्रि-मनसुन मानिन्छ । यस समयमा करिब २२६ मिलीमिटर वर्षा हुनुपर्नेमा मङ्गलबारसम्म ७७ दशमलव पाँच मिलीमिटर वर्षा भइसकेको छ ।’

जल तथा मौसम विज्ञान विभागका अनुसार हालको मौसम प्रणालीमा सामान्य बदली देखिएको छ । विभागले दिएको विवरणअनुसार मङ्गलबारको तुलनामा आज तापक्रममा वृद्धि भएको छ ।

राजधानी काठमाडौँसहित उपत्यकामा आज दिउँसोको अधिकतम तापक्रम २५ डिग्रीसेल्सियस पुगेको जनाउँदै महर्जनले सोही अवधिमा मङ्गलबार २२ डिग्रीसेल्सियस तपक्रम रहेको बताए ।

मौसमविद् महर्जनका अनुसार बिहीबार (भोलि)सम्म मौसम सामान्यतया सफा रहनेछ भने शुक्रबारदेखि फेरि वर्षा हुने सम्भावना छ । यसैबीच, विभागले मौसम परिवर्तनशील रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । -रासस

प्रतिक्रिया