मापसे गरी सवारी चलाउने १६ जना कारबाहीमा

नेपालखोज २०८२ चैत १८ गते १७:५७

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १६ वटा सवारी साधनका चालकलाई कारबाही गरेको छ ।

ट्राफिक प्रहरीले आज ११ वटा यात्रुवाहक सवारी साधन, एक वटा ट्र्याक्टर, दुई वटा निजी कार तथा दुईवटा स्कुटरका चालकलाई कारबाही गरेको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

पछिल्लो समय ट्राफिक प्रहरीले विशेष अभियान सञ्चालन गरी ट्राफिक नियम उल्लङ्घन गर्ने चालकमाथि कारबाही गर्दै आएको छ । मापसे गरी सवारी साधन चलाउनु नियम विपरित तथा दण्डनीय कार्य हो ।

सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शङ्का लागेमा तत्काल नजिकको प्रहरी कार्यालयमा खबर गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । -रासस

प्रतिक्रिया