इरान युद्धमा ट्रम्पको कडा चेतावनी

वासिङ्ट । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धलाई निर्णायक मोडमा पुगेको दाबी गर्दै थप दुईदेखि तीन हप्तासम्म ‘अत्यन्त कडा’ आक्रमण जारी रहने चेतावनी दिएका छन् । ट्रम्पको उक्त अभिव्यक्तिले युद्ध अन्त्य नजिक पुगेको सङ्केत गरे पनि अन्तर्राष्ट्रिय चिन्ता झनै बढाएको छ ।
ह्वाइट हाउसबाट बुधबार साँझ सम्बोधन गर्दै ट्रम्पले संयुक्त राज्य अमेरिका आफ्नो लक्ष्य हासिल गर्ने चरणमा पुगेको बताउनुभयो, तर युद्ध कसरी र कहिले टुङ्गिन्छ भन्नेबारे स्पष्ट खाका प्रस्तुत गरे । उनले ‘काम छिट्टै पूरा गरिने’ दाबी दोहोर्याउँदै अमेरिकी आक्रमण अझ तीव्र हुने सङ्केत गरे ।
एक महिनाभन्दा बढी समयदेखि जारी यस द्वन्द्वले अमेरिकाभित्रै राजनीतिक दबाब बढाइरहेको छ । ट्रम्पको स्वीकृति दर घट्दै गएको छ भने बढ्दो तेल मूल्यका कारण सर्वसाधारणमा आर्थिक दबाब महसुस हुन थालेको छ ।
यही सन्दर्भमा उनले फेब्रुअरी २८ मा सुरु गरिएको आक्रमणमा किन इजरायलसँग सहकार्य गरिएको हो भन्ने विषयमा विस्तृत स्पष्टीकरण दिएका थिए ।
उनले आफ्नो सम्बोधनमा अमेरिकाको रणनीतिक उद्देश्य इरानको सैन्य क्षमता कमजोर पार्ने, क्षेत्रीय सशस्त्र समूहहरूलाई दिइँदै आएको समर्थन अन्त्य गर्ने तथा इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने रहेको उल्लेख गरे ।
यद्यपि संयुक्त राष्ट्रसङ्घका निकाय र अन्य विश्लेषकहरूले इरान तत्कालै आणविक हतियार नजिक नभएको आकलन गर्दै आएका छन् ।
द्वन्द्वको सुरुआती चरणमै इजरायलले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या गरेको घटनालाई ट्रम्पले आफ्नो सफलताका रूपमा प्रस्तुत गरे । उनले इरानका ‘धेरैजसो नेतृत्व तह समाप्त भइसकेको’ दाबी गर्दै सैन्य प्रगतिको चर्चा गरे ।
तर इरानले पनि रणनीतिक रूपमा महत्त्वपूर्ण होर्मुज जलडमरूमध्यमा नियन्त्रण बढाउँदै प्रतिक्रिया दिएको छ, जुन विश्वको करिब पाँचौँ भाग तेल आपूर्तिको प्रमुख मार्ग हो ।
यसको असर विश्व बजारमा देखिन थालेको छ—अमेरिकामा पेट्रोलको मूल्य वर्षौंपछि प्रति ग्यालन चार डलरभन्दा माथि पुगेको छ भने सेयर बजारमा गिरावट आएको छ ।
ट्रम्पको सम्बोधनपछि पनि बजारमा अनिश्चितता कायम रह्यो । बिहीबार प्रारम्भिक कारोबारमा तेलको मूल्य फेरि बढ्दा लगानीकर्ताहरू सतर्क देखिएका छन् ।
यसले युद्ध छिट्टै अन्त्य हुने अपेक्षामा शङ्का उत्पन्न गरेको छ । अमेरिकी सिनेटर क्रिस मर्फीले ट्रम्पको नीतिमा स्पष्टता नभएको टिप्पणी गरे । रासस/एएफपी

प्रतिक्रिया