नेपाल निर्माण व्यवसायी महासंघको नवनिर्वाचित कार्य समिति र मन्त्री लम्सालबीच घनिभूत छलफल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकास मन्त्री सुनिल लम्सालले निर्माण उद्योगमा विद्यमान समस्याहरू समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष निकोलस पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलसँगको आइतवार भएको घनिभूत छलफलमा मन्त्री लम्सालले निर्माण उद्योगलाई अब सूचना प्रविधिको उच्चतम प्रयोग गरी ‘भ्रष्टचार शून्य’ बनाइने दृढता व्यक्त गरे ।
पश्चिम एशियाको युद्धका कारण इन्धन र निर्माण सामाग्रीहरूमा अत्यधिक मूल्यवृद्धि भएको प्रसङ्गमा मन्त्री लम्सालले दुई हप्ता भित्रमै निर्देशिका जारी गरेर मूल्यवृद्धिको समस्या सम्बोधन गरिने प्रतिबद्धता जनाए ।
मन्त्री लम्सालले एक वर्ष अवधि भएका सबै ठेक्काको हकमा पनि मूल्यवृद्धिको व्यवस्था गरिने जानकारी दिए । निर्माण उद्योगमा अब आइन्दा भुक्तानीको समस्या नरहने गरी रकमान्तरको निर्णय भएको बताउँदै मन्त्री लम्सालले मोबिलाइजेशन पेश्कीको सदुपयोग भए नभएको अनुगमन गर्न विशेष प्रणाली स्थापना गरिएको बताए ।
भुक्तानी र भि.ओमा अब विलम्ब नहुने गरी आयोजना प्रमुखलाई जिम्मेवार बनाइने जानकारी मन्त्री लम्सालले दिए । निर्माण उद्योगमैत्री हुने गरी सार्वजनिक खरिद ऐन संशोधनको प्रक्रिया अघि बढेको बताउँदै मन्त्री लम्सालले उक्त संशोधन प्रक्रियामा महासंघको पनि संलग्नता रहने स्पष्ट पारे । अध्यक्ष पाण्डेले रुग्ण ठेक्काहरूको समस्या समाधानका लागि मन्त्री लम्सालको ध्यानाकर्षण गराउँदा उनले ठेक्काहरूलाई सकेसम्म ‘रुग्ण’ हुनै दिन नहुने भन्दै आवश्यक वर्गिकरण गरी अधिकतम लचकता अपनाई रुग्ण ठेक्काको समस्या हल गरिने बताए ।
निर्माण उद्योगमा अब ‘थर्ड पार्टी’ ले कुनै समस्या सिर्जना नगर्ने दाबी गर्दै उहाँले यदि कोही कसैले त्यसो गरेमा सजायको भागिदार हुने बताए । उनले निश्चित मूल्य मान्यतामा आधारित भएर सरकारी र व्यवसायीले कार्य सम्पादन गरेमा निर्माण उद्योगमा कुनै समस्या नआउने दाबी गरे ।
महासंघको २६ औं साधारण सभा एवं १३ औं अधिवेशनबाट निर्वाचित कार्य समितिसँगका अन्य पदाधिकारीहरूको जिज्ञासको जवाफमा मन्त्री लम्सालले निर्माण उद्योगका समस्याहरू समाधान गर्न सरकार र व्यवसायी दुवै जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्ने धारणा राखे ।
सोही अवसरमा महासंघका नवनिर्वाचित अध्यक्ष निकोलस पाण्डेले नवनियुक्त मन्त्री लम्सालको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया