इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण

नेपालखोज २०८२ चैत २५ गते १८:५०

तेहरान । इरानले आफ्नो लावान टापुस्थित तेल संरचनामाथि भएको हवाई आक्रमणपछि कुवेत र संयुक्त अरब इमिरेट्समाथि मिसाइल तथा ड्रोन आक्रमण गरेको सरकारी टेलिभिजनले जनाएको छ । सरकारी प्रसारण माध्यमका अनुसार, लावान टापुको तेल संरचनामा आक्रमण भएको केही घण्टापछि कुवेत र इमिरेट्सतर्फ मिसाइल र ड्रोन प्रहार गरिएको हो ।

इरानी राष्ट्रिय तेल प्रशोधन तथा वितरण कम्पनीका अनुसार, मङ्गलबार राति सङ्घर्षविराम घोषणा भए पनि बुधबार बिहान करिब १० बजे लावान टापुको तेल प्रशोधन केन्द्रमाथि आक्रमण भएको थियो । उक्त आक्रमणलाई कम्पनीले ‘कायरतापूर्ण’ भन्दै आलोचना गरेको छ ।

हाल आगलागी नियन्त्रणका लागि सुरक्षा तथा दमकल टोली सक्रिय रूपमा खटिएको र संरचना सुरक्षित बनाउने प्रयास भइरहेको जनाइएको छ । कर्मचारीहरूलाई समयमै सुरक्षित स्थानमा सारिएको कारण मानवीय क्षति नभएको पनि पुष्टि गरिएको छ ।

लावान टापुस्थित तेल प्रशोधन केन्द्र नजिकैको तेल क्षेत्रबाट निकालिएको कच्चा तेल प्रशोधन गर्ने महत्वपूर्ण केन्द्र हो, जसबाट इरानको उच्च गुणस्तरको तेल निर्यात गरिन्छ ।

उपलब्ध तथ्याङ्कअनुसार, यो प्रशोधन केन्द्र इरानका प्रमुखमध्ये एक हो र दैनिक करिब ६० हजार ब्यारेल कच्चा तेल प्रशोधन गर्ने क्षमता राख्छ । यसअघि पनि खाडी क्षेत्रमा रहेका इरानी टापुहरू द्वन्द्वका क्रममा आक्रमणको निशानामा परेका थिए ।

विशेषगरी तेल निर्यातका लागि महत्वपूर्ण खार्ग टापुमा रहेका सैन्य संरचनाहरूमा दुई पटक हवाई आक्रमण गरिएको थियो रासस/एएफपी

प्रतिक्रिया