चार किमी सडक कालोपत्र गर्न पाँच वर्ष

गलकोट (बागलुङ) । लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक कालोपत्र गरिएको छ । दुई वर्षमा सक्नुपर्ने सडक पाँच वर्ष बित्दा बल्ल कालोपत्र भएको हो । उक्त सडक गाउँपालिकाकै पहिलो लामो कालोपत्र सडक भएको छ ।
बागलुङको काठेखोला गाउँपालिका–७ रेश जाने चार किमि सडक दुई वर्षमा कालोपत्र सक्नेगरी सम्झौता गरिएकामा पाँच वर्ष बित्दा बल्ल कालोपत्र भएको हो ।
कालोपत्र भएपछि रेश जाने यात्रुलाई सहज हुन थालेको छ । सङ्घीय सरकार र काठेखोला गाउँपालिकाको साझेदारीमा निर्माण थालिएको सडक समयमै काम नहुँदा गाउँपालिकाको लागतमा कालोपत्र भएको हो ।
उक्त सडक गाउँपालिकाका सबैभन्दा बढी लागतमा कालोपत्र भएको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए । २०७७ जेठमा दुई वर्षमा कालोपत्र सक्नेगरी निर्माण कम्पनीसँग रु छ करोड ७१ लाखमा चार किमी सडक कालोपत्र र ढलान गर्ने सम्झौता गरिएको सडक समयमै काम नहुँदा छ पटक म्याद थपिएको थियो ।
निर्माण व्यवसायीले अहिले सडक धमाधम कालोपत्र गरिरहेको बताउँदै गाउँपालिका अध्यक्ष राजु थापाले पालिकाले अपनत्व लिँदा सडक कालोपत्र भएको बताए ।
सङ्घीय सरकारले साझेदारी गरेर ठेक्कामा गए पनि समयमै काम नहुँदा गाउँपालिकाले चार करोड लगानी गरेर सडक सम्पन्न गर्न थालेको बताए ।
बर्खामा हिलो र हिउँदमा धुलाम्मे सडकले रेशका जनतालाई आजित बनाएको थियो । सडक कालोपत्र भएपछि १५ मिनेटमै गाउँपालिकाको केन्द्रबाट रेश पुग्न सकिने भएको छ । -रासस

प्रतिक्रिया