पूर्वकेन्द्रित बदली : चार जिल्लामा भारी वर्षा

नेपालखोज २०८२ चैत २६ गते १८:४८

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण विकास भएको वर्षा गराउने प्रणाली अहिले पूर्वी नेपाल केन्द्रित भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार बिहान पश्चिमबाट सक्रिय भएको प्रणाली बुधबार साँझ पूर्व पुगेको अहिले उक्त प्रणाली बाहिरिनेक्रममा रहेको छ । तर पूर्वका विभिन्न ठाउँमा अहिले पनि वर्षा भइरहेको छ ।

उक्त प्रणाली आज रातिदेखि बाहिरिने र प्रिमनसुनका गतिविधि भने कायम रहने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो २४ घण्टामा उक्त प्रणालीका कारण विभिन्न चार जिल्लामा भारी वर्षा गराएको तर वर्षा भने सातै प्रदेशमा भएको छ । सबैभन्दा बढी वर्षा सिन्धुलीमा भएको छ ।

अहिले साँझ ५ बजेको अभिलेख अनुसार २४ घण्टामा इलाममा ५३.२, झापामा ५४.८, सुनसरीमा झण्डै ४९ र सिन्धुलीमा ५९.४ मिलिमिटर वर्षा भएको छ । अहिले पनि पश्चिम क्षेत्रको रुकुममा र कास्कीमा हल्का वर्षा भइरहेको छ भने बागमतीका केही क्षेत्र तथा कोशी प्रदेशमा बढी वर्षा भइरहेको छ ।

पश्चिमबाट मध्यसम्म मौसम खुलिसकेको र रातिबाटै विस्तारै मौसम थप खुल्दै जाने तथा केही उच्च पहाडी र हिमाली भेगमा बदली रहने छ । विभागका सूचना अधिकारी दिनकर कायस्थले शुक्रबार कोशी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने, बाँकी हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराईका भू–भागमा मौसम मूख्यतया सफा रहने बताए ।

उनका अनुसार कोशी प्रदेशको पहाडी तथा हिमाली भू–भाग तथा बाँकी हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

प्रतिक्रिया