जर्मनीद्वारा इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने निर्णय

नेपालखोज २०८२ चैत २७ गते ११:०२

बर्लिन । जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबीच हालै सहमति भएको दुई हप्ते युद्धविरामलाई समर्थन गर्न जर्मनीले इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने घोषणा गरेका छन् ।

बर्लिनमा आयोजित पत्रकार सम्मेलनमा उनले लामो समयदेखि जारी तनावपछि पहिलो पटक कूटनीतिक समाधान खोज्ने वास्तविक अवसर खुलेको बताए ।

तर उनले मध्यपूर्व क्षेत्रको समग्र अवस्था अझै पनि निकै संवेदनशील र अस्थिर रहेको उल्लेख गर्दै सावधानी अपनाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

अमेरिका र इरानबीच भएको युद्धविरामपछि प्रत्यक्ष वार्ता पाकिस्तानको राजधानी इस्लामाबादमा आयोजना हुने तय भएको छ । यस वार्तामा सहभागी हुन जर्मनीको एक उच्चस्तरीय वार्ता टोली पाकिस्तानतर्फ प्रस्थान गरिसकेको छ ।

मर्जले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफसँग टेलिफोन संवाद गर्ने कार्यक्रम पनि रहेको जानकारी दिए, जसमा वार्ताको तयारी र समन्वयबारे छलफल हुने अपेक्षा गरिएको छ ।

यसै क्रममा मर्जले अमेरिकी राष्ट्रपतिसँग पनि टेलिफोन वार्ता गरेका छन् । उनले अमेरिकालाई यो वार्तालाई गम्भीरतापूर्वक लिन र दीर्घकालीन शान्ति स्थापना गर्ने दिशामा सक्रिय भूमिका खेल्न आग्रह गरे । जर्मनीले आफूलाई एक मध्यस्थकर्ताको रूपमा प्रस्तुत गर्दै द्विपक्षीय संवादलाई अघि बढाउन प्रयास गरिरहेको देखिन्छ ।

यद्यपि, उहाँले जर्मनीमा रहेका अमेरिकी सैनिक फौज फिर्ता गर्ने विषयमा कुनै प्रकारको छलफल नभएको स्पष्ट पार्नुभयो, जसले जर्मनी–अमेरिका सुरक्षा सहकार्य यथावत् रहेको सङ्केत गर्छ । यसका साथै, मर्जले मध्यपूर्वको अर्को संवेदनशील क्षेत्र लेबनानको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरे ।

उनले इजरायलले लेबनानमा जारी राखेको सैन्य कारबाहीले समग्र शान्ति प्रक्रियामा नकारात्मक असर पार्न सक्ने चेतावनी दिए । उनका अनुसार यदि यस्तो गतिविधि जारी रह्यो भने हाल सुरु भएको कूटनीतिक पहल असफल हुन सक्ने जोखिम उच्च रहनेछ ।

जर्मनीले वर्तमान परिस्थितिलाई कूटनीतिक रूपमा समाधान गर्ने अवसरको रूपमा लिएको छ र अन्तर्राष्ट्रिय साझेदारहरूसँग समन्वय गर्दै शान्ति स्थापना गर्ने प्रयासलाई तीव्र बनाएको देखिन्छ । -रासस/सिन्ह्वा

प्रतिक्रिया