युरोप जाने तेल पाइपलाइनको मर्मत पूरा भएको जेलेन्स्कीको भनाइ

किएच । रुसको तेल युरोप पुर्याउने क्षतिग्रस्त ड्रुज्बा पाइपलाइनको मर्मत भइसकेको युक्रेनले बताएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मङ्गलबार रुसको तेल युरोप पुर्याउने क्षतिग्रस्त ड्रुज्बा पाइपलाइनको मर्मत भइसकेको र सञ्चालन पुनः सुरु गर्न तयार रहेको बताएका हुन् ।
हङ्गेरीले अझै पनि पाइपलाइन मार्फत रूसी तेल आयात गर्दछ र यो मुलुक युक्रेन र युरोपेली सङ्घबीचको गतिरोधको केन्द्रमा रहेको छ । हङ्गेरीका निवर्तमान राष्ट्रवादी नेता भिक्टर ओर्बानले युक्रेनलाई डेलिभरी पुनः सुरु गर्न दबाब दिन युक्रेनका लागि आवश्यक नौ करोड युरो बराबरको ऋण रोक्ने निर्णय गरेका थिए ।
जेलेन्स्कीले सामाजिक सञ्जालमा प्रकाशित एक विज्ञप्तिमा लेखेका छन्, ‘युक्रेनले रुसी आक्रमणबाट क्षतिग्रस्त ड्रुज्बा तेल पाइपलाइनको खण्डको मर्मत कार्य पूरा गरेको छ । अब, तत्काल नै पाइपलाइन सञ्चालनमा आउन सक्छ ।’ स्लोभाकिया र हङ्गेरीमा रुसी तेल पुर्याउन आफ्नो क्षेत्र पार गर्ने ड्रुज्बा पाइपलाइन जनवरीको अन्त्यमा रुसी आक्रमणबाट क्षतिग्रस्त भएको युक्रेनले बताएको थियो ।
जेलेन्स्कीले मङ्गलबार चेतावनी दिँदै भन्नुभएको छ, ‘मस्कोको सेनाले पूर्वाधारमा फेरि आक्रमण गर्न सक्छ।’ क्रेमलिनप्रति सहानुभूति राख्ने युरोपेली सङ्घकासदस्य राष्ट्रमध्ये हङ्गेरी र स्लोभाकियाले किएभलाई मर्मतमा नसघाएको आरोप लगाएका थिए । -रासस/एएफपी

प्रतिक्रिया