प्रभु इन्स्योरेन्सको नौ प्रतिशत लाभांस पारित

नेपालखोज २०८३ वैशाख ९ गते १७:३४

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको ३० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको बुधबार सम्पन्न बार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०८१÷८२ को मुनाफाबाट नौं दशमलव १५ प्रतिशत लाभांश पारित गरेको छ ।

सभाले गत आवको लागि प्रस्तावित हाल कायम चुक्तापुँजी एक अर्ब ७० करोड नौं लाख ५५ हजार नौं सय १९ रुपैयाँको कुल नौं दशमलव १५ प्रतिशत लाभांश पारित गरेको हो ।

जसमा आठ दशमलव सात प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि शुन्य दशमलव ४५ प्रतिशत नगद लाभांशले हुन आउने रकम १५ करोड ५७ लाख ७१ हजार सात सय ५३ रुपैयाँ वितरण गरेको छ ।

सभामा कम्पनीमा अध्यक्ष राजेन्द्र मल्लले कम्पनीले दिगो रूपमा सफलता हासिल गर्नको लागि नीतिगत रूपमा अल्पकालीक तथा दीर्घकालीन रणनीति तय गरेको बताए ।

कम्पनीले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र सूचना प्रविधिमा आधारित सेवा विस्तारलाई प्राथमिकतामा राखिएको उल्लेख गरे ।

सूचना प्रविधिलाई सबल र विश्वसनीय बनाउनका लागि प्रविधिको उपयुक्त प्रयोग गर्दै छिटो र सहज सेवा उपलब्ध गराउने नीति लिएको भन्दै उनले कम्पनीले संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गर्दै समग्र रूपमा बीमा क्षेत्रमा देखिने जोखिम व्यवस्थापनलाई न्यूनीकरण गर्ने तर्फ विशेष ध्यान दिइएको बताए ।

मानव संसाधन विकास, कर्मचारी तालिम तथा कार्यक्षमता अभिवृद्धिमा पनि विशेष जोड दिइएको पनि उनले बताए । अध्यक्ष मल्लका अनुसार कम्पनीले यस वर्ष वित्तीय विवरण नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डका निर्देशिका तथा नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) बमोजिम तयार गरिएको छ ।

कम्पनीले यस वर्ष इन्डियन चेम्बर अफ कमर्सद्वारा थाइल्याण्डको बैंककमा आयोजित छैठौं संस्करणको ‘इमर्जिङ एसिया अवार्ड’ मा बेस्ट जनरल इन्स्योरेन्स कम्पनी अफ द इयर, नेपाल’ र कम्पनी विथ् बेस्ट रिस्क म्यानेजमेन्ट स्ट्राजी अफ द इयर –जनरल नेपाल’ दुई वटा विधामा अवार्ड जित्न सफल भएको थियो ।

प्रतिक्रिया