सञ्चारमन्त्री डा. तिमिल्सिना र पत्रकार महासंघबीच छलफल

नेपालखोज २०८३ वैशाख १० गते १८:२४

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिना र नेपाल पत्रकार महासङ्घका पदाधिकारीहरुबीच समसामयिक विषयमा आज मन्त्रालयमा छलफल भएको छ ।

सो छलफल प्रेस स्वतन्त्रता, जिम्मेवार पत्रकारिता, सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण, सरकारी विज्ञापन वितरणको पारदर्शिता तथा श्रमजीवी पत्रकारका अधिकारलगायत विषयमा केन्द्रमा रह्यो ।

छलफलका क्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र प्रवद्र्धनमा प्रतिबद्ध रहेको स्पष्ट पार्दै त्यसको समानान्तर रूपमा सञ्चार क्षेत्र पनि जिम्मेवार हुनुपर्ने धारणा राखे ।

सञ्चारमन्त्री डा तिमिल्सिनाले सत्यतथ्यमा आधारित, विश्वसनीय र सन्तुलित समाचार सम्प्रेषण आजको आवश्यकता भएको उल्लेख गर्दै पछिल्लो समय सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममार्फत मिथ्या, भ्रामक, पक्षपातपूर्ण तथा गैरजिम्मेवार सामग्री प्रसारण हुनेक्रम बढेकोप्रति चिन्ता व्यक्त गरे ।

यस्ता सामग्रीका कारण समाजमा नकारात्मक प्रभाव परेको उल्लेख गर्दै उनले मन्त्रालयसम्मसमेत गुनासो आउने गरेको बताए । मन्त्री डा तिमिल्सिनाले विशेष गरी चरित्र हत्या हुने खालका सामग्री प्रकाशन तथा प्रसारणले व्यक्तिमा गम्भीर मानसिक, सामाजिक र व्यावसायिक असर पार्न सक्ने उल्लेख गर्दै पत्रकार तथा सामग्री उत्पादकहरू थप जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया