आईसीसी क्रिकेट विश्वकप लिग–२ : नेपालले यूएईलाई ६ रनले हरायाे

नेपालखोज २०८३ वैशाख १८ गते १९:०१

काठमाडाैं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा युनाइटेड अरब इमिरेट्स (यूएई)लाई ६ रनले पराजित गरेको छ । 

शुक्रबार (वैशाख १८) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको उक्त खेल ४.१ ओभरमा वर्षाका कारण रोकिएको थियो । यूएईले यो स्थितिमा एक विकेट गुमाएर ३६ रन बनाएको थियो ।

त्यसअघि पहिलो इनिङमा टस जितेर ब्याटिङ रोजेको नेपालले यूएईविरुद्ध निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २८९ रनको योगफल खडा गरेको थियो । 

नेपालको निम्ति उपकप्तान दीपेन्द्र सिंह ऐरीले १०० रनको शतकीय पारी खेले । दीपेन्द्रले ९४ बलमा १३ चौका र एक छक्का प्रहार गरे । उनले छैटौँ विकेटको निम्ति अविजित रहेका गुल्सन झासँग १०२ रनको शतकीय साझेदारी गरेका थिए । 

जितसँगै नेपालले तालिकामा १६ अंक जोडेको छ । सातौँ स्थानमा रहेको नेपालले २३ खेल खेल्दा सात जित र १४ हारसहित यो नतिजा आत्मसाथ गरेको हो । नेपालको दुई खेल भने रद्द भएको थियो । 

हारसँगै यूएई समान २३ खेल खेल्दा १२ अंकमा सीमित भएको छ । तालिकाको पुछारमा रहेको पाहुना टोलीलाई यसअघि भएको पहिलो खेलमा पनि घरेलु टोलीले यूएईलाई ३७ रनले पराजित गरेको थियो । यूएईले ६ जित र १७ हारसहित १२ अंक जोडेको छ ।

प्रतिक्रिया