सेवा निवृत्त भारतीय सैनिकको धारिलो हतियार प्रहार गरी हत्या

पाँचथर । जिल्लाको फिदिम नगरपालिका–४ जोरसालमा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।
स्थानीयवासी ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बूको धारिलो हतियार प्रहार गरी गए राति हत्या भएको हो । इङ्वाको शरीर टाउकोमा गहिरो चोटपटक देखिएको प्रहरीले जनाएको छ । घरमा इङ्वाका वृद्ध दम्पत्ति मात्रै बस्दै आएको र श्रीमती शारीरिकरूपमा अशक्त छन् ।
सासूससुरा भेट्न मृतककी बुहारी आज बिहान यहाँ आएपछि घटना सार्वजनिक भएको हो । अहिले प्रहरीले हत्या भएको घरलाई सिल गरी अनुसन्धान गरिरहेको छ । मृतक वृद्ध सेवा निवृत्त भारतीय सैनिक हुन् ।
गत बिहीवारमात्रै उहाँले निवृत्तिभरणको रकम बैंकबाट बुझेको हुनाले लुटपाटका लागि उनको हत्या भएको हुनसक्ने स्थानीयवासीले अनुमान गरेका छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकाले थप विवरण सार्वजनिक भएको छैन ।

रासस
रासस नेपालको राष्ट्रिय समाचार एजेन्सी हो । नेपालखोज राससको आधिकारिक ग्राहक पनि हो ।
प्रतिक्रिया