देशभरका नदी तथा खोलाको बहाव बढ्याे, सुरक्षित रहन आग्रह

काठमाडाैं । देशभर मनसुन सक्रिय भएसँगै जारी वर्षाका कारण देशभरका नदी तथा खोलाहरूमा बहाव बढेको छ । ठाउँठाउँमा भारी वर्षा भएपछि जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले बाढीबाट जोगिन आग्रह गरेको छ ।
कास्कीको लुम्ले र म्याग्दीको घोरेपानी क्षेत्रमा भारी वर्षा भएको छ । भारी वर्षा भएपछि ती क्षेत्रमा खतराको संकेत स्वरुप साइरन बजाइएको छ ।
कास्कीको लुम्ले, चितवनको चरछरे, म्याग्दीको घोरेपानी र नवलपरासीको अरुण खोला स्टेशनमा भारी वर्षा मापन भएपछि साइरन बजाइएको महाशाखाले जनाएको छ ।
महाशाखाले विहान जारी गरेको सूचनामा विभिन्न प्रदेशका ४१ जिल्लाका नदी तथा खोला एवं तटीय क्षेत्रमा बाढी तथा पहिरोको जोखिम उच्च छ ।
बिहीबारसम्म कालीगण्डकी, तिनाउ, पश्चिम राप्ती, बबई, भेरी र यसका सहायक नदी लगायत लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशको चुरे, तराई भई बहने केही साना नदी नजिकको क्षेत्रमा पनि विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।
ती नदीहरुमा बहाव बढ्ने र बाढीको सतह सतर्कता आसपास पुग्न सक्ने महाशाखाले पूर्वानुमान गरेको छ ।
प्रतिक्रिया