भारतमा चाैबीस घण्टामा ६२,२२४ संक्रमित थपिए

काठमाडाैं । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमित भएकाहरुको सङ्ख्यामा कमी हुँदै आएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो चाैबीस घण्टामा भारतमा ६२ हजार २२४ जना कोरोना भाइरसबाट थप सङ्क्रमित भएका छन् ।
यो सङ्ख्या अघिल्ला दिनहरुको भन्दा कम हुँदै गएको हो । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले ३.२२ प्रतिशतको दरले सङ्क्रमण घटेको जनाएको छ ।
पछिल्लो नौ दिनमा औसतमा ९ प्रतिशतको दरले सङ्क्रमितहरुको सङ्ख्यामा कमी हुँदै आएको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । त्यसैगरी सक्रिय अवस्थामा रहेका सङ्क्रमितहरुको सङ्ख्या पनि घट्दै गएर अहिले आठ लाख ६५ हजार ४३२ रहेको छ ।
सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घटेर ७० दिनपछि अहिले पहिलो पटक नौ लाखभन्दा कम भएको अधिकारीहरुले जानकारी दिएका छन् । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भारतमा कोरोनभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको दर ९५.८० रहेको छ ।
भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या दुई करोड ९६ लाख ३३ हजार १०५ पुगेको मन्त्रालयले जनाएको छ । त्यसैगरी भारतमा कोरोनाका कारण अहिलेसम्म कुल तीन लाख ७९ हजार ५७३ जनाको मृत्यु भएको देखिएको छ ।
ती मध्ये दुई हजार ५४२ जनाको पछिल्लो चाैबीस घण्टामा मृत्यु भएको हो । पछिल्लो एक दिनमा भारतमा एक लाख सात हजार ६२८ जना सङ्क्रमणमुक्त भएको पाइएको छ ।
योसँगै सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या दुई करोड ८३ लाख ८८ हजार एक सय रहेको छ । भारतको स्वास्थ्य अनुसन्धान परिषदका अनुसार भारतमा अहिलेसम्म कुल ३८ करोड ३३ लाख छ हजार ७९१ पटक कोरोना परीक्षण गरिएको छ । त्यस्तै २६ करोड १९ लाखलाई कोभिड-१९ विरुद्धको खोप लगाइएको छ ।
प्रतिक्रिया