नेपाल एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश

काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) ले बुधबार परिमार्जन गर्दै जारी गरेको नयाँ ढाँचा अनुसार नेपालले चीनमा आयोजना हुने एसियन कप–२०२३ कप छनोटका लागि सिधै तेस्रो चरणको खेल खेल्ने मौका पाएको छ ।
एएफसीले जारी गरेको नयाँ ढाँचासँगै अब नेपालले प्ले अफ खेल्न नपर्ने भएको छ । विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले ८ खेलबाट ६ अंक जोडेर चौंथो स्थानमा रहेको थियो । चौथो स्थानमा रहँदै लिगका खेल समापन गर्दा नेपालको कतार विश्वकप यात्रा समाप्त भएको हो ।
परिमार्जन गरेको मापदण्ड अनुसार यस अघि छनोटको चौंथो स्थानमा रहेको टिमले प्ले अफ खेल्नु पर्ने प्रावधान तोकिएको थियो । तर, एएफसीले बुधबार जारी गरेको नयाँ ढाँचाबाट नेपालले सिधै तेस्रो चरणमा स्थान बनाएको हो । तेस्रो चरणको छनोटमा २४ टिमको सहभागिता रहनेछ ।
अब छनोटको पाँचौं स्थानमा रहेको टिमले प्ले अफ खेल्नेछ । प्ले अफमा चाईनिज ताईपेइ, इन्डोनेसिया, कम्बोडिया र गुआमले खेल्ने तालिक सार्वजनिक भएको छ । प्ले अफका दुई टोलीले तेस्रो चरणमा स्थान बनाउनेछन् ।
प्रतिक्रिया