प्रभावितको उद्धार र क्षतिको विवरण संकलनलाई पहिलो प्राथमिकता दिन सभामुखको निर्देशन

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले बाढीबाट प्रभावितको उद्धार र क्षतिको विवरण संकलनलाई पहिलो प्राथमिकता दिन निर्देशन दिएका छन् । बुधबार सन्धुपाल्चोको बाढीग्रस्त मेलम्ची क्षेत्रमा पुगेर स्थलगत जानकारी लिएका सापकाेटाले उक्त निर्देशन दिएका हुन् ।


मंगलबार रातिदेखि मेलम्ची र इन्द्रावती नदीमा आएको भीषण बाढीले पुर्याएको क्षतिबारे स्थल मार्गबाट इन्द्रावती करिडोरको अवलोकन गर्दै मेलम्ची गएका सभामुख सापकोटाले बाढीको क्षतिबारे मेलम्ची नगरपालिका प्रमुख र सम्बद्ध पक्षसंग विस्तृत जानकारी लिएका छन् ।भेटमा नगर प्रमुख डम्बर अर्यालले अहिलेसम्मका उद्धार, राहत र भए गरेका कामबारे संक्षिप्त जानकारी गराएका छन् ।


मेलम्ची नगरपालिकामा भएको छलफलमा सभामुख सापकोटाले बाढीपछि अवरुद्ध फोन, इन्टरनेटलगायतका सूचना तथा सञ्चार क्षेत्र, विद्युत र सडकहरु तत्काल सुचारु गर्न संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा कार्य अघि बढाउनु पर्ने बताएका छन् । उनले उद्धार कार्य र बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिंदै आफ्नो तर्फबाट आवश्यक पहलकदमी लिने प्रतिवद्धतासमेत व्यक्त गरेका सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले विज्ञप्तिमार्फ जानकारी गराएका छन् ।


त्यस्तै, सभामुख सापकोटाले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर उद्धार, राहत, विस्थापितहरुको अस्थायी बसोवास एवं पुनर्स्थापनाको काम अघि बढाउन सबैमा अपिल पनि गरेका छन् । सभामुख सापकोटाको प्रमुख आतिथ्यतामा नगरपालिकामा भएको सर्बपक्षिय छलफलबाट बाढीका कारण पीडामा परेका नागरिकलाई तत्काल राहत वितरणलगायतका कार्य गर्न जिसस प्रमुख कृष्ण गोपाल तामाङको संयोजकत्वमा ‘इन्द्रावती मेलम्ची क्षेत्र प्राकृतिक विपद् व्यवस्थापन मूल समिति’ पनि गठन गरिएको छ ।


बाढीबाट विस्थापितहरुलाई तत्काल राहतका लागि सभामुख सापकोटाको पहलमा उपलब्ध भएका खाद्यान्नलगायतका राहत सामग्री नवगठित ‘इन्द्रावती मेलम्ची क्षेत्र प्राकृतिक विपद् व्यवस्थापन मूल समिति’ लाई हस्तारन्तरण गरिएको छ । समितिले बाढी पीडितका लागि प्राप्त भएका र आगामी दिनमा प्राप्त हुने सबैखाले राहत सामग्री एकद्वार प्रणालीबाट वितरण गर्ने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया