सोमबार, वैशाख २९, २०८२

खाली जमिनको सदुपयोग गर्न सामुदायिक वनमा कागती खेती

नेपालखोज २०७८ असार ७ गते १५:२५

काठमाडौं । सृजना समुदायिक वन उपभोक्ता समितिले आफ्नो क्षेत्रमा पर्ने करिब १० हेक्टर जमिनमा ४ हजार कागती लगाएको छ । कोहलपुर नगरपालिका १२ रोहिणी खोलास्थित सृजना समुदायिक वनले १० हेक्टर जंगल फडानी गरी ४ हजार कागतीको विरुवा रोपेको छ ।

सृजना समुदायिक वनले यस क्षेत्रमा करिब २५ लाख लगानीमा मनोरञ्जनका लागि भ्यू टावर निर्माण गरेको छ । जंगल छेउमै भएकोले रमाउन आउने मानिसहरुलाई किरा, सर्पलगायत जनावरहरुको आक्रमण हुन सक्ने भन्दै समितिले भ्यू टावरको क्षेत्रमा तराई क्षेत्रमा नपाईने विरुवाहरु पनि लगाएको छ । कागती रोपाई गरेपछि जंगलका ठुला रुखहरुलाई हुर्कन र खाली जमिनको सदुपयोग भएको सृजना समुदायिक वनका अध्यक्ष दशरथ शर्मा पराजुलीले बताए ।

गाँउका छेउमा रहेको जंगल सफा हुनुका साथै खाली जमिनलाई सदुपयोग गर्ने र स्थानीय बिपन्न परिवाहरुलाई रोजगारी मिल्ने तथा बैकल्पिक आर्थिक स्रोत बढ्ने भएकोले कागती रोपाई गरेको समितिका सदस्य महेन्द्र प्रसाद पौडेलले बताए । कोहलपुर नगरपालिकाले हालसम्म ६,९ र १३ नम्वर वडाहरुलाई तरकारी पकेट क्षेत्रको रुपमा निर्माण गरिसकेको छ । यसै आर्थिक वर्षदेखि नगरपालिकाले नगर प्रमुख विशेष कार्यक्रम सञ्चालनसमेत गर्ने भएको छ ।

नगरपालिकाले नगरमा भएका किसानहरुलाई कृषि र बैकपिक आयबारे निःशुल्क परामर्श दिइरहेको छ । नगरपालिकाले नगरबासीहरुलाई फलफुलका विरुवासमेत वितरण गर्दै आएको कोहलपुर नगरपालिकाका कृषि शाखा प्रमुख चन्द लाल बुढाले बताए ।चालु आर्थिक बर्ष २०७६/७७ मा सृजना समुदायिक वन उपभोक्ता समितिलाई छनोट गरि लागतको ५० प्रतिशत अनुदान र ४ हजार कागती उपलब्ध गराईएको छ । जसमा सुन कागती र कलम कागती रहेका छन् ।

प्रतिक्रिया