मंगलबार, वैशाख ३०, २०८२

युरोकप फुटबल : नेदरल्यान्ड्स, अस्ट्रिया, बेल्जियम तथा डेनमार्क नकआउट चरणमा प्रवेश

नेपालखोज २०७८ असार ८ गते ६:५०

काठमाडौं । नेदरल्यान्ड्स समूह विजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा नर्थ म्यासेडोनियालाई ३-० गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्स समूह विजेता बनेको हो ।

यस जितसँगै समूह ‘सी’ को नेदरल्यान्ड्स शतप्रतिशत जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको छ । नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई ३-२ ले हराएको थियो भने दोस्रो खेलमा अष्ट्रियालाई २-० ले हराएको थियो । नर्थ म्यासेडोनिया भने समूह चरणबाटै बाहिरिएको छ ।

त्यस्तै, अस्ट्रिया युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको दोस्रो खेलमा युक्रेनलाई १–० गोलले हराउँदै अस्ट्रिया अन्तिम १६ मा प्रवेश गरेको हो ।

उसका लागि बोम्गाटर्नले गोल गरे । समूह ‘सी’ मा रहेको अस्ट्रियाले पहिलो खेलमा नर्थ म्यासेडोनियालाई हराएको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्ससँग हारेको थियो । तर हिजो युक्रेनलाई जित्दै ६ अङ्कका साथ अस्ट्रिया अन्तिम १६ मा प्रवेश गरेको हो । युक्रेनको पनि उत्कृष्ट अन्तिम १६ मा पुग्ने आशा जीवितै छ तर त्यसको लागि समूह चरणका सबै खेलको नतिजा पर्खनुपर्छ ।

त्यस्तै, समूह चरणको खेलमा बेल्जियमले शतप्रतिशत जित निकालेको छ । गएराति भएको तेस्रो खेलमा बेल्जियमले फिनल्यान्डलाई २–० गोलले हरायो । उसका लागि रोमलु लुकाकुले एक गोल गरे भने फिनल्यान्डका लुकास राडेक्सीले आत्मघाती गोल गरे । जितसँगै बेल्जियम तीन खेलमा ९ अङ्कका साथ समूह विजेता बनेको छ ।

त्यस्तै, डेनमार्क युरो कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको चौंथो खेलमा रुसलाई ४–१ गोलले हराउँदै रुस नकआउट चरणमा पुगेको हो । डेनमार्कको लागि मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसेन र जोकिम मुहलेले एकरएक गोल गरे ।

रुसका आर्टम ज्युबाले पेनाल्टीमा एक गोल फर्काए । तीन अङ्क जोडेको डेनमार्क अघिल्लो चरणमा पुग्दा समूह ‘बी’ बाट रुस बाहिरिएको छ । तेस्रो स्थानको फिनल्यान्डको उत्कृष्ट तीनमा पर्दै अन्तिम १६ मा पुग्ने सम्भावना कायमै छ ।

प्रतिक्रिया