काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो, निजी सवारीमा जोर-बिजोर लागु

काठमाडौं । काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा आजदेखि थप खुकुलो बनाउँदै निजी सवारीसाधानमा जोर-बिजोर प्रणाली लागु गरिएको छ । आजदेखि उपत्यकामा सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय, अटोमोबाइल शो–रुम, पार्ट्स पसल, मोबाइल तथा कम्प्युटर पसल खोल्न पाइनेछ । यी पसल आइतबार र बिहीबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।
त्यस्तै सपिङ मल र खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट, टेलरिङ पसल सोमबार, बुधबार र शुक्रबार बिहान ११ देखि दिउँसो ४ बजेसम्म खोल्न पाइनेछ । खाद्यान्न, दूध, फलफूल, तरकारी, माछामासु, पूजा सामग्री, खेलकुद सामग्री, डिपार्टमेन्टल स्टोर, स्टेसनरी बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।
निर्माणजन्य सामग्री पसल हार्डवेयर, स्यानिटरी, फर्निचर कार्पेटिङ दैनिक बिहान ११ देखि बेलुका ६ बजेसम्म सञ्चालन गर्न पाइनेछ । अत्यावश्यक वस्तुको अनलाइन तथा टेक अवे सेवा होम डेलिभरी काठमाडौं उपत्यकाभित्र बेलुका ७ बजेसम्म सञ्चालन गर्न सकिनेछ । वर्कसप बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।
सभा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, मनोरञ्जन क्षेत्र, सैलुन, ब्युटी पार्लर, फुटसल, जिमखाना, पुस्तकालय, चिडियाखाना, दर्शकसहितका खेलकुद तथा भिडका कार्यक्रम सञ्चालन गर्न पाइने छैन । फुटपाथको व्यापार पनि रोक लगाइएको छ ।
अब घरबाट निस्कन पाइने भएको छ । तर स्वास्थ्यका मापदण्ड भने पालन गर्नुपर्नेछ । सार्वजनिक सवारीसाधनलाई भने आउँदो १४ गते रातिसम्मका लागि सञ्चालनमा रोक लगाइएको छ ।
प्रतिक्रिया