बुधबार, जेठ १, २०८२

इंग्ल्यान्ड समूह विजेता, क्रोएसियासँग स्कटल्यान्ड ३–१ गोलले पराजित

नेपालखोज २०७८ असार ९ गते ७:२०

काठमाडौं । इंग्ल्याण्ड समूह ‘डी’ को विजेता बन्दै युरोकप २०२० को नकआउट चरणमा प्रवेश गरेको छ । गएराति घरेलु मैदान वेम्वलीमा भएको खेलमा रहिम स्टर्लिङको गोलको मद्दतमा चेक रिपब्लिकलाई पराजित गर्दै इंग्ल्याण्ड नकआउट चरणमा पुगेको हो ।

इंग्ल्याण्डका लागि स्टर्लिङले खेलको १२औं मिनेटमा गोल गरेका थिए । त्यही गोल ३ अंक दिलाउन निर्णायक बन्यो । यसअघि पहिलो खेलमा क्रोएसियालाई हराउँदा पनि उनै स्टर्लिङले गोल गरेका थिए । इंग्ल्याण्डल स्कटल्याण्डसँग भने गोलरहित बराबरी खेलेको थियो । जितपछि ३ खेलबाट ७ अंक जोड्दै इंग्ल्याण्ड समूह विजेता बन्यो । अब इंग्ल्याण्डले समूह ‘एफ’को उपविजेतासँग अन्तिम १६ मा खेल्नेछ ।

समूह चरणको अन्तिम खेलमा मंगलबार राति स्कटल्याण्डमाथि ३–१ गोलको जित निकालेर क्रोएसिया समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । क्रोएसियालाई जित दिलाउन निकोला भ्लासिच, लुका मोड्रिच र इभान पेरिसिचले एक एक गोल गरे । स्कटल्याण्डका कलुम म्याकग्रिगोरले एक गोल फर्काए ।

यस जितसँगै समूह ’डी’ को क्रोएसियाले ३ खेलमा ४ अंक जोड्यो । र, समूह उपविजेता बन्यो । स्कटल्याण्ड भने प्रतियोगिताबाट बाहिरिएको छ । स्कटल्याण्ड १ अंक जोडेर समूहको पुछारमा रह्यो ।

हारपछि पनि चेक रिपब्लिक तेस्रो स्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको छ । अर्को खेलमा क्रोएसियाले स्कटल्याण्डलाई पराजित गरेपछि क्रोएसिया समूह उपविजेता बन्यो । ३ खेलबाट ४ अंक जोडेको चेक रिपब्लिक तेस्रो हुनेमध्ये उत्कृष्ट हुँदै नकआउट चरणमा पुगेको हो ।

प्रतिक्रिया