मंगलबार, वैशाख ३०, २०८२

ललितपुरमा ७७ वर्ष माथिका जेष्ठ नागरिकले कोभिशिल्डको दोस्रो मात्रा खोप लगाए

नेपालखोज २०७८ असार ९ गते १७:३१

काठमाडौं । ललितपुर महानगरपालिकाले ७७ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाएको छ । ललितपुर महानगरपालिकाले यसअघि कोभिशिल्ड खोपको पहिलो मात्रा लगाइसकेका ७७ वर्ष माथिका महानगरका स्थायी बासिन्दा जेष्ठ नागरिकलाई बुधबार कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाएको हो । खोप कार्यक्रम आज एकदिन मात्रै संचालन भएकाे छ ।

महानगरपालिकाभित्र विभिन्न ८ वटा खोप केन्द्र संचालन गरेर खोप लगाइएको हो । खोप लगाउन आउने वृद्धवृद्धाले भने महानगरपालिकाको व्यवस्थापन प्रति असन्तुष्टि जनाएका छन् । सरकारले हुलमुलमा बस्नु नहुने बताएको भएपनि खोप केन्द्रमा भिडभाड बढी भएको र व्यवस्थित नभएको भन्दै पाटन हाइस्कुल खोपकेन्द्रमा आएका जोगरत्न बज्राचार्यले असन्तुष्टि जनाए ।

खोप लगाउन आएका देवेन्द्र राज शर्माले खोपकेन्द्रमा वृद्धवृद्धालाई व्यवस्थितरुपले नराखिएको बताएका छन् । उनले प्रत्येक वडाले आ–आफ्नो वडामा अथवा वडाले व्यवस्था गरको स्थानमा खोप लगाएको भए दुःख कम हुने बताए । व्यवस्थित तरिकाले खोप केन्द्र संचालन नभएको उनको टिप्पणी छ । कोभिशिल्ड खोपको दोस्रो मात्रा महानगरभित्रका करिब २४ सय जेष्ठ नागरिकलाई लगाइने महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया