युरोकप : नकआउट चरणमा कुन टिमले को सँग खेल्दै ? रोनाल्डोको नयाँ कीर्तिमान

काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत गए राति समूह चरणका अन्तिम चार खेल सकिएका छन् । यससँगै प्रिक्वाटरफाइनल अर्थात् अन्तिम १६मा पुग्ने सबै टिमको टुंगो लागेको छ ।
यस पटक साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, इटाली, जर्मनी, वेल्स, डेनमार्क, अष्ट्रिया, नेदरल्यान्ड्स, चेक रिपब्लिक, बेल्जियम, क्रोएसिया, स्पेन, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, युक्रेन र स्विडेनले नकआउट चरणमा स्थान बनाएका छन् ।
अब नकआउट चरणका खेल २६ जुनबाट हुनेछन् । नकआउट चरणको पहिलो खेलमा वेल्स र डेनमार्क भिड्ने छ । वेल्सले डेनमार्क, इटालीले अष्ट्रिया, नेदरल्याण्डसले चेक रिपब्लिक र स्वीडेनले युक्रेन प्रतिद्वन्द्वी पाएका छन् ।
हेरौं गए रातिका चार खेलको नतिजा
हंगेरीको बुडापेस्टमा बुधबार राति भएको खेलमा पोर्चुगलसँग २–२ गोलको बराबरी खेल्दै फ्रान्स समूह विजेता बनेको छ । यससँगै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको छ । हंगेरीको पुस्कास एरिनामा फ्रान्सका लागि करिम बेन्जिमाले दुई गोल गरे । पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे ।
यस बराबरीसँगै समूह ’एफ’ मा रहेको फ्रान्सले ३ खेलमा ५ अंक जोड्यो । र, शीर्ष स्थानमा रहदै अन्तिम १६ मा स्थान पक्का गरेको हो । यस अघि समूह चरणको पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १–० गोल अन्तरले हराएको थियो । तर, दोस्रो खेलमा फ्रान्स हंगेरीसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । अब फ्रान्सले अन्तिम १६ मा स्विट्जरल्यान्डसँग खेल्नेछ ।
फ्रान्ससँगको बराबरीसँगै पोर्चुगलले ३ खेलमा ४ अंक जोड्यो । पोर्चुगल समूहको तेस्रो स्थानमा रह्यो । पोर्चुगल समूहको उत्कृष्ट तेस्रो टिम बन्दै नकआउट चरणमा पुगेको हो । अब पोर्चुगलले अन्तिम १६ मा बेल्जियमसँग खेल्नेछ । समूह चरणको पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३–० गोल अन्तरले पराजित गरेको थियो । तर, दोस्रो खेलमा पोर्चुगल जर्मनीसँग ४–२ गोल अन्तरले पराजित भएको थियो ।
रोनाल्डोको किर्तिमानी
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले जर्मनीका लिजेण्ड मिरोस्लाभ क्लोजको कीर्तिमान भङ्ग गरेका छन् । रोनाल्डोले दुई ठूला प्रतियोगिता विश्वकप र युरोकपमा संयुक्त सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् । फ्रान्स विरुद्धको खेलमा एक गोल गरेसँगै रोनाल्डोले क्लोजको कीर्तिमान तोडेका हुन् । रोनाल्डोले विश्वकप र यूरोपकमा गरि संयुक्त २० औं गोल संख्या पूरा गरे । यस अघि विश्वकप र युरोमा संयुक्त १९ गोल गर्दै क्लोजले कीर्तिमान बनाएका थिए ।
जर्मनीका लिजेण्ड गर्ड मुलर १८ गोल गर्दै तेस्रो स्थानमा रहेका छन् । ३६ वर्षीय रोनाल्डोले युरोकपमा १३ र विश्वकपमा ७ गोल गरेका छन् । रोनाल्डो युरोकपमा सर्वाधिक धेरै गोल गर्ने कीर्तिमानी खेलाडीसमेत हुन् । रोनाल्डोले फ्रान्सका मिचेल प्लाटिनीले बनाएको ९ गोलको कीर्तिमान तोडेका हुन् । ३६ वर्षीय रोनाल्डोको नाममा पाँच संस्करणको युरोकप खेल्ने पहिलो खेलाडीको कीर्तिमानसमेत छ । रोनाल्डोले यस अघि चार संस्करणको युरोकप खेलिसकेका छन् । योसँगै उनी लगातार पाँच संस्करणमा गोल गर्ने पहिलो खेलाडी समेत हुन् ।
हंगेरीसँग जर्मनीको बराबरी
एलिनाज स्टेडियममा अर्को खेलमा हंगेरीसँग २–२ गोलको बराबरी खेल्दै जर्मनी समूह उपविजेता बनेको छ । जर्मनी पनि नकआउट चरणमा प्रवेश गरेको छ । यस बराबरीसँगै समूह ’एफ’ को उपविजेता बनेको जर्मनी ३ खेलमा ५ अंक जोड्यो । यस अघि समूह चरणको पहिलो खेलमा फ्रान्ससँग १–० ले पराजित जर्मनीले दोस्रो खेलमा पोर्चुगललाई ४–२ गोल अन्तरले पराजित गरेको थियो । अब जर्मनीले अन्तिम १६ मा इंग्ल्यान्डसँग खेल्ने छ । हंगेरी भने समूह चरणबाट बाहिरिएको छ । हंगेरीले ३ खेलमा २ अंक जोड्यो । पहिलो खेलमा पोर्चुगलसँग ३-० ले पराजित हंगेरीले दोस्रो खेलमा फ्रान्ससँग १-१ गोलको बराबरी खेलेको थियो।
पोल्याण्डलाई ३–२ गोल अन्तरले पराजित गरेको स्विडेन पनि समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा बुधबार रातिस्वडेन समूह विजेता बनेको हो । यस जितसँगै समूह ’ई’ को स्विडेनले ३ खेलमा ७ अंक जोड्यो । र, समूहको शीर्ष स्थानमा रह्यो । पोल्याण्डले ३ खेलमा १ अंक जोड्यो । पोल्याण्ड समूह चरणबाटै बाहिरिएको छ ।
सेभियामा भएको खेलमा भने स्लोभाकियालाई ५–० गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम १६ मा प्रवेश गरेको छ । स्पेन समूह उपविजेता बनेको हो । यससँगै समूह ’ई’ मा रहेको स्पेनले पहिलो जित समेत निकालेको छ । स्पेनले ३ खेलमा ५ अंक जोड्यो र समूहको दोस्रो स्थान हासिल गर्दै नकआउट चरणमा स्थान बनाउन सफल भयो । स्पेनले अब अन्तिम १६ मा क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ । स्लोभाकियाले ३ खेलमा ३ अंक जोड्यो । स्लोभाकिया समूहको तेस्रो स्थानमा रह्यो । स्पेनसँगको फराकिलो हारसँगै स्लोभाकिया समूह चरणबाटै बाहिरिएको छ ।
प्रतिक्रिया