राजस्व छली गर्ने सिन्हाविरुद्ध १८ करोड रुपैयाँ बिगोसहित मुद्दा दायर

काठमाडौं । राजश्व छली गर्ने सिन्हाविरुद्ध १८ करोड रुपैयाँ भन्दा बढी बिगो सहित मुुद्दा दायर भएको छ । राजश्व अनुसन्धान विभागले भन्सार चोरी पैठारी गरी राजश्व चुहावट कार्यमा संलग्न रहेको अभियोगमा अशोक कुमार सिन्हा र निवेदिका सिन्हाबाट १८ करोड ६५ लाख दुई हजार सात सय छ रुपैयाँ विगो असुल गरी उनीहरुलाई जरिवाना र कैद मागदावी यही असार नौ गते अर्थात बुुधबार उच्च अदालत जनकपुर, अस्थायी इजलास विरगंजमा मुद्दा दर्ता गराएको हो ।
विभागका अनुसार सिंहपुर, रक्सौल, पूर्वी चम्पारण, भारत स्थायी ठेगाना भई विगतमा जिल्ला पर्सा विरगंज महानगरपालिका वडा नं. ५ रेशमकोठी स्थित श्री गणेश अपार्टमेन्टको तेस्रो तल्लाको फ्लाट नं. ३०३ खरीद गरी बसोबास गर्ने निवेदिका सिन्हा र निजको बुबा भारतीय नागरिक अशोक कुमार सिन्हाले २२९५७.४८ ग्राम सुन र १०७८.०० ग्राम चाँदीका गरगहना अवैधरुपमा भन्सार चोरी पैठारी गरी लुकाइछिपाई भण्डारण गरी राजश्व चुहावट गरेको देखिएको थियो ।
ति प्रतिवादीले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख) र (झ) बमोजिम कसुर गरी १८ करोड ६५ लाख दुई हजार सात सय छ रुपैयाँ राजस्व चुहावट गरेको कसूर स्थापित हुन आएकोले निजहरुलाई उल्लिखित कसूर अपराधमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ को उपदफा(१) बमोजिम जरिवाना, दफा २३(१)(घ) बमोजिम कैद सजाय र बरामद भएको सुन/चाँदी सोही ऐनको दफा ३३(१) बमोजिम जफत हुन मागदावी लिई यही असार नौ गते बुधबार उच्च अदालत जनकपुर, अस्थायी इजलास विरगंजमा मुद्दा दर्ता गरिएको बिभागले जनाएको छ ।
प्रतिक्रिया