बुधबार, जेठ १, २०८२

प्रचण्डको आरोप- प्रधानमन्त्री ओली अदालतको निर्णयमाथि प्रभाव पार्ने षड्यन्त्रमा

नेपालखोज २०७८ असार १४ गते १९:४०
फाइल फोटो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा टिकिरहनका लागि अझै पनि षड्यन्त्रका गोटी चाल्न सक्ने खतरा कायमै रहेको बताएका छन् । सोमबार विपक्षी गठबन्धनले बुद्धिजिवीहरुसँग गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष दाहालले अदालतको निर्णयमाथि प्रभाव पार्ने षडयन्त्रमा प्रधानमन्त्री ओली लागेको आरोप लगाए ।

उनले सत्ताकेन्द्रीत भएर नेपाली राजनीतिमा ठूलो चलखेल भएको गन्ध आफुले पाएको दाबी पनि गरे । प्रधानमन्त्री ओली इतिहासमा नै सबैभन्दा कलंकित र बद्नाम भएको तथा राजनीतिक भविश्य नै ओरालो लागिसकेकाले अन्तिम समयसम्म पनि षड्यन्त्रका गाटीहरु चाल्न सक्ने खतरा रहेको अध्यक्ष दाहालले दाबी गरे । प्रधानमन्त्री ओलीले अदालतलाई धम्क्याउने, तर्साउने र कुनै न कुनै रुपले दबाबमा पारेर, खैजेडीमा पारेर निर्णयमाथि प्रभाव पार्ने खुल्ला षड्यन्त्र गरेको पनि अध्यक्ष दाहालले आरोप लगाए ।

प्रधानमन्त्री ओलीले हारेको अनुभुत आफुले गरेको भन्दै उहाँले नेपालको इतिहासमा प्रधानमन्त्री ओली सबैभन्दा कलंकित र बेइमान भएर जाने जिकिर गरे । उनले ढिलै भएपनि प्रतिनिधिसभा पुनःस्थापना हुने र सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गर्ने दाबी गरे । तथ्य, तर्क र प्रमाणले पुनःस्थापना हुने कुरामा आशंका गर्ने ठाउँ नभएको उनले बताए । यद्यपी संसद पुनःस्थापना नै भएपनि ठुलो खेल चलिराखेको गन्ध आफुले पाएको उनले बताए ।

पुनःस्थापनाले मात्रै समस्याको समाधान नहुने भन्दै प्रचण्डले पुर्नस्थापित संसद संसद नहुनुभन्दा पनि नराम्रो स्थितिमा हुने आशंका समेत व्यक्त गरे । अझैपनि ढुक्क हुनसक्ने अवस्था नरहेको उनले बताए ।
अध्यक्ष प्रचण्डले सरकार अवैधानिक र असंवैधानिक भएको भन्दै यस सरकारले गरेका सम्पूर्ण संवैधानिक निकायहरुमा गरेका नियुक्तीलाई गठबन्धनको सरकारले खारेज गर्ने बताए । ओली सरकारले गरेको निर्णय खारेजी गरेर मान्यता स्थापित हुनेगरी पुर्ननियुक्ति गरिने बताए ।

अध्यक्ष दाहालले सरकार कोभिड–१९ को महामारीबाट जनतालाई जोगाउन गम्भिर नरहेको बताए । कमिसनको ध्यानमा लागेर कोभिडविरुद्धको खोप सरकारले ल्याउन नसकेको भन्दै उनले गठबन्धनको सरकारको पहिलो प्राथमिकता भने कोभिड–१९ र विपतिहरुबाट जनताको जिवन रक्षा गर्ने नै पहिलो प्राथमिकता हुने पनि उनले बताए ।

प्रतिक्रिया