प्रधानमन्त्रीका अभिव्यक्तिहरुलाई रेकर्ड गरेर राख्न नेता नेपालको सुझाव

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्तिहरु महत्वपुर्ण रहेको भन्दै ती भाषणलाई रेकर्ड गर्न व्यंग्यात्मक सुझाव दिएका छन् ।
सोमबार विपक्षी गठबन्धनले बुद्धिजिवीहरुसँग गरेको अन्तरक्रियामा बोल्दै नेता नेपालले सधै संस्कार र मर्यादाका कुरा गर्नेले नै अरुको मर्यादा राख्न नसकेको धारणा राखे । उनले नेतृत्वका कार्यशैलीलाई नै कार्यकर्ताले अनुसरण गर्ने भन्दै प्रधानमन्त्री ओलीका आईतबार र सोमबारका भाषणहरु रेकर्ड गरेर राख्न सुझाव दिए ।
प्रधानमन्त्री ओलीले राष्ट्रपति र प्रधानमन्त्रीलाई नेताहरुले सम्मानपुर्ण सम्बोधन र भाषा प्रयोग नगरेको भन्दै बेला बेलामा संस्कार र संस्कृतिका कुरा गर्दै आएका छन् । उनले सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा विपक्षी गठबन्धनका नेतासंगै नेता नेपालको तिखो आलोचना गरेका थिए ।
ओलीले नेता नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गर्न बहुलाहा कुकुरले टोकेको छ र भन्दै कटाक्ष गरेका थिए । सोही अभिव्यक्तिप्रति लक्षित गर्दै नेता नेपालले प्रधानमन्त्री ओलीका भाषण ध्यानदिन लायक रहेको भनी व्यंग्य गरेका हुन् ।
प्रतिक्रिया