बुधबार, जेठ १, २०८२

युरोकपमा आज क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदै

नेपालखोज २०७८ असार १९ गते ७:०४

काठमाडौं । युरोपमा जारी १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज राति क्वाटरफाइनलको दुई खेलहरु हुँदैछन् । युरोकप अन्तर्गत शनिबार क्वाटरफाइनलको अन्तिम दुई खेलहरु हुनेछन् । पहिलो खेलमा चेक रिपब्लिक र डेनमार्क भिड्दा दोस्रो खेलमा युक्रेन र इंग्ल्यान्ड प्रतिस्पर्धा गर्ने छन् ।

चेक रिपब्लिक र डेनमार्कबीचको खेल अजरबैजानको बाकु ओलम्पिक स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ । चेक रिपब्लिक र डेनमार्क दुबै टिम जित निकाल्दै अन्तिम चारको यात्रा तय गर्ने लक्ष्यमा हुने छन् । दुबै टिमले पछिल्ला खेलमा सशक्त प्रदर्शन गर्दै आईरहेका छन् ।

डेनमार्कले भने प्रि-क्वाटरफाइनलमा वेल्सलाई फराकिलो अन्तरले हराएको थियो । १० खेलाडीमा सिमित वेल्सलाई ४-० गोल अन्तरले पराजित गर्दै डेनमार्कले अन्तिम आठको यात्रा तय गरेको हो ।

त्यस्तै, इंग्ल्यान्ड र युक्रेनबीचको अन्तिम क्वाटरफाइनल खेल इटालीको रोममा हुनेछ । स्टाडियो ओलम्पिकोमा हुने खेल राति १२:४५ बजे सुरु हुनेछ । इंग्ल्यान्ड र युक्रेन दुबै टिम सेमिफाइनलमा पुग्ने योजनामा हुनेछन् । इंग्ल्यान्ड उपाधि दाबेदार जर्मनीलाई पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । इंग्ल्यान्डले प्रि-क्वाटरफाइनलमा तीन पटकको च्याम्पियन जर्मनीलाई २-० गोल अन्तरले पराजित गरेको थियो ।

युक्रेनले भने स्विडेनलाई पराजित गर्दै इंग्ल्यान्डसँगको भेट पक्का गरेको हो । युक्रेनले स्विडेनलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गरेको थियो ।

प्रतिक्रिया