मंगलबार, वैशाख ३०, २०८२

रहेनन ट्रेड युनियन आन्दोलनका अग्रणी नेता रामजी कुँवर

नेपालखोज २०७८ असार २१ गते २०:२१

पोखरा । नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य एंव नेपालको ट्रेड युनियन आन्दोलनका अग्रणी नेता रामजी कुँवरको सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा निधन भएको छ ।

कुँवर गत स्थानिय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट पोखरा महानगरको मेयर पदका उम्मेदवार पनि थिए । कोरोना संक्रमितत कुँवरलाई उपचारका लागि पोखराबाट काठमाडौं ल्याईएको थियो । कोरोनाकै कारण फोक्सोले काम गर्न नसकेपछि उनले भौतिक संसारबाट बिदा लिनुपर्यो ।

कांग्रेसको राजनीतिमा सरल र इमान्दार व्यक्तित्वको छवि बनाएका कुँवरको सादगीपन अनि सरल व्यवहारले धेरैलाई आकर्षित गर्थ्यो । स्वर्गीय कुँवरका श्रीमतिका साथै दुई छोरा, छोरी छन् ।

कुँवरको निधनमा शोक व्यक्त गर्दै नेपाली कांँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुःख व्यक्त गरेका छन् । उनले भनेका छन् – नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य एंव नेपालको ट्रेड युनियन आन्दोलनका अग्रणी रामजी कुँवरको निधनको खबरले मलाई अत्यन्तै दुखी बनाएको छ । उहाँ विश्वव्यापी महामारी कोराना संक्रमित भएर केहि समयदेखि त्रिभुवन शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । श्री रामजी कुँवर नेपाली कांग्रेसका पुराना र ईमानदार नेताका रुपमा चिनिनुहुन्थ्यो ।

२०३६ सालको प्यारामेडिकल आन्दोलनबाट नेपालको ट्रेड युनियन आन्दोलन र प्रजातान्त्रीक आन्दोलनमा होमिएका कुँवर ट्रेड युनियन कांग्रेसको संस्थापक केन्द्रीय सदस्य समेत हुनुहुन्थ्यो । पोखराको सम्मानित राजनीतिक परिवारमा जन्मिनु भएका रामजी कुँवर पार्टीमा कास्की क्षेत्र नं. ३ सभापति हुँदै पार्टीका आमन्त्रित केन्द्रीय सदस्यसम्म हुनुभयो। अत्यन्तै मृदुभाषी र शालीन स्वभावका कुँवर गत स्थानीय तहको चुनावमा पोखरा महानगरपालिकाको प्रमुखको प्रत्यासी हुनुहुन्थ्यो ।

श्री रामजी कुँवरको यस दुःखद निधनले नेपालको ट्रेड युनियन आन्दोलन र सिंगो लोकतान्त्रीक आन्दोलनलाई अपुरणीय क्षति पुगेको छ । दुखको यो घडीमा स्वर्गीय कुँवरको आत्माको चीर शान्तिको कामना गर्दै सिंगो कुँवर परिवार प्रति गहिरो समवेदना व्यक्त गर्दछु।

त्यसैगरि कांग्रेसका अर्का नेता शेखर कोईरालाले पनि कुँवरको निधनमा दुःख व्यक्त गरेका छन् । उनले भनेका छन्, – मेरा अनन्य मित्र, नेपाली ट्रेड युनियन आन्दोलनका अगुवा एवं नेपाली कांग्रेसका नेता रामजी कुँवरको निधनले अत्यन्तै स्तब्ध र मर्माहत बनाएको छ। कुँवरले पार्टी संगठन तथा ट्रेड युनियनको क्षेत्रमा पुर्याउनुभएको योगदान हाम्रा सामु सधै अनुकरणीय रहिरहनेछ। यस दुःखद समयमा परिवारमा हार्दिक समवेदना र स्व कुँवरप्रती भावपुर्ण श्रद्धान्जली।

प्रतिक्रिया