मंगलबार, वैशाख ३०, २०८२

उपत्यकामा दुई महिनापछि चल्न थाले सबै सवारीसाधन

नेपालखोज २०७८ असार २२ गते ७:४३

काठमाडौं । दोस्रो चरणको कोरोना संक्रमण फैलिए पछि गत बैशाख १६ गतेदेखि जारी निषेधाज्ञाका कारण ठप्प रहेका सबै प्रकारका सार्वजनिक सावरी साधन आजदेखि संचालनमा आएका छन् । यस अघि उपत्यकाको निषेधाज्ञा खुकुलो पार्दै सवारीलाई जोर बिजोर प्रणालीमा संचालन गर्न दिइएको थियो । उपत्यकामा संक्रमण कम हुँदै गएको र आफूहरुलाई दैनिक गुजारा गर्न समेत मुस्किल परेको भन्दै यातायात व्यवसायीले जनस्वास्थ्यका मापदण्ड पालना गरि सार्वजनिक यातायात पूर्ण रुपमा संचालन गर्न पाउनु पर्ने माग गरेका थिए ।

व्यवसायीहरुको मागलाई मध्य नजर गर्दै निवार्य रुपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने सर्तसहित उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले जोर बिजोर प्रणाली हटाउँदै सबै प्रकारका गाडी सञ्चालन गर्न पाइने निर्णय गरेपछि आजदेखि सबै प्रकारका सार्वजनिक सवारी साधन संचालनमा आएका छन् ।

सार्वजनिक सवारीमा यात्रुहरुले अनिवार्यरुपमा मास्क लगाउनु पर्ने, नलगाएमा गाडीभित्र प्रवेश रोक लगाउनु पर्र्ने, चालक र सहचालकलाई अनिवार्यरुपमा भाइजर र पञ्जा लगाउनुपर्ने, गाडीको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नु पर्ने, गाडीलाई समेत नि(सङ्क्रमित गराउनु पर्ने, सफा टेम्पु र तथा नीलो माइक्रोबसको पछाडिको तेस्रो सिटमा चाररचार जना र चालकको छेउमा एक गरी नौ जना मात्रै यात्रु राख्नु पर्ने, गाडीको बीचमा दुईतर्फ यात्रु छुट्याउने गरी प्लाष्टिकको छेकबार लगाउन भनिएको छ ।

त्यस्तै अत्यावश्यक काम विशेषले काठमाडौं उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी गाडीलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत लिएर मात्रै प्रवेश गर्न दिइने छ । भने सार्वजनिक तथा निजी निर्माणका लागि सामग्री ढुवानीका गाडी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न भनिएको छ ।

सबै प्रकारका सवारी चलाउन दिइए पनि उपत्यकामा निषेधाज्ञा भने अझै जारी छ । आजदेखि आउँदो ३१ गतेसम्म थपिएको निषेधाज्ञामा सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेसलगायत दर्शकसहित हुने सबै प्रकारका गतिविधिमा पूर्ण रोक लगाएको छ । खुला ठाउँमा हुने भेला, होटल तथा पार्टी प्यालेसमा हुने विवाह व्रतबन्धलगायत सामूहिकरुपमा गरिने कार्यक्रम, नित्य पूजाबाहेक सबै धार्मिक कार्यक्रम, भौतिक उपस्थितिमा हुने पठनपाठनका गतिविधिमा समेत रोक लगाइएको छ ।

प्रतिक्रिया